आज भाद्र कृष्ण औँसी । अर्थात् बुबालाई स्मरण गर्ने दिन । आज पिता नहुनेहरूले धार्मिक स्थलमा गई दान तथा श्राद्ध गर्दा दिवंगत पितृ तथा पिताले मोक्ष पाउने विश्वास छ ।
सम्भवतः त्यही भएर आज नेपालको गोकर्णेश्वरमा आफ्ना पिताको स्मरणमा दान तथा श्राद्ध गर्नेहरूको भीड छ ।
मुख्यतः कुसेऔँसीका दिन दिवङ्गत पितालाई सम्झिएर श्राद्धपूर्वक दान तथा भोजन गराउने प्रचलन भए पनि पछिल्लो समय जीवत पिताको मुख हेर्ने प्रचलन बढेको छ ।
सोहीअनुरूप आज सामाजिक सञ्जालमा जीवित ‘बुबा’हरूलाई मिष्ठान्न भोजनसहितका तस्वीर तथा शुभकामनाको ओइरो छ ।
जसले मलाई पनि सामाजिक सञ्जालमार्फत ् केही भन्न उद्वेलित गरायो । केही लेखूँ, लेखूँ लाग्यो । लगत्तै अन्तरात्माले भन्यो नलेख् ।
अन्तरात्माको यो भनाइ ठिकै लाग्यो । सोचेँ, 'आज कुसेऔशी ‘बा’ कुस लिएर यजमानकहाँ जानुभएको छ । ‘बा’लाई भ्याइनभ्याइ छ ।
बालाई सामाजिक सञ्जालमार्फत् दिएको शुभकामनाको के अर्थ ? बरु फोनै गर्छु ।
फोन गर्न मोबाइल उठाएँ ।तर, करिब दशकअघि यजमानकहाँ कुस पुर्याउनुपर्दाकाे हतारोको याद आयो । अनि ‘बा’ हतारमा भएको अनुमान लगाए । र, फोन नगर्ने निर्णय गरेँ ।
बरु ‘बा’लाई कल गर्न उठाएको फोन भुँइमा नराखी काकाकाे नम्बर खाेज्न थालेँ । अनि कल गरेँ । तर, काकालाई पनि फोन लागेन ।
यतिकैमा सामाजिक सञ्जाल स्क्रोल गर्न थालेँ । ‘ह्यप्पी फादर डे’लगायत ‘बा’बारे गरिएका गुणगानका तस्वीर एकपछि अर्को गर्दै आइरहेका थिए ।
कुसेऔँसीका दिन दिवंगत पिताहरूको स्मरणमा दान र श्राद्ध गर्नुपर्छ भन्ने कुरा अधिक सुन्दै/देख्दै आएको, तर जीवित पिताको मुख हेर्ने परम्परा कम रहेकाे समाजमा एक्कासि पिताकाे मुख हेर्ने दिनले चाडकै रूप लिनुकाे कारण के? कहिलेबाट सुरु भयो ? पूर्वीय मान्यताअन्तर्गत रही सुरू भएकाे भए मृत पिताकाे श्राद्ध गरेर जीवित पितालाई उपहार दिनुकोको अर्थ के ? जस्ता यावत प्रश्न मनमा रुमलिएँ ।
जसकाे आफैँले उत्तर दिने प्रयास गरेँ । तर, चित्तबुझ्दो उत्तर आएन । अनि निर्णय गरेँ यो संस्कार आयातित वा बनावटी हो ।
थाहा छैन यो निर्णय सही वा गलत भनेर ।
तर, अन्तरात्माले भन्छ, ‘मृत बालाई सम्झने दिन जीवित बाको मुख किन हेर्ने ?’
यतिकैमा करिब २ बज्न लागेको थियो । यसअघिका मुख हेर्ने दिनझै बालाई शुभकामना नदिए पनि फोनचाहिँ गर्ने निर्णय गरेँ ।
र, ‘बा’लाई फोन गरेँ । ‘बा’ले फोन उठाउनुभयो ।
अनि भन्नुभयो, ‘नानी ।’ (‘नानी’ ‘बा’ले मायाले बोलाउने शब्द हो ।)
मैले भनेँ, ‘हजुर बुबा नमस्कार ।’
उताबाट ‘बा’ले भन्नुभयो, ‘नमस्कार ज्वरो जाति भयो ? ताताेपानी खानू ।'
(बासँग मेरो कुराकानी नभएको धेरै भएको थियो । तर, बाले मलाई ज्वरो आएको थाहा पाइसक्नुभएको रहेछ ।)
मेले भनेँ, अँ बुबा जाति भयो ।
‘हजुरलाई कस्तो छ ?,’ मैले सोधेँ ।
‘बा’ले भन्नुभयो ‘ ठिकै छ ।’
‘कहाँ हुनुहुन्छ ?,’ मैले पुन: प्रश्न गरेँ ।
‘श्राद्ध गरेर फर्किँदै छु,’ ‘बा’ले उत्तर दिनुभयो ।
(श्राद्ध गरेर फर्किँदैछु भनेपछि मैले यस वर्ष ‘बा’ कुस लिएर नगएको अनुमान लगाएँ ।
त्यसपछि हामीबीच धान गोड्ने, भर्खरै दुहुँनो गाईं बेचेको, अब बस्तु घटाउनेलगायत विषयमा केही मिनेटको फोन संवाद भयो । र, औपचारिक रूपमा बिदा भयौँ ।
तर, मैले ‘बा’लाई मुख हेर्ने दिनको शुभकामना दिइनँ ।