close

निर्णय गर्दै मेयर हमाल, आफ्नै भाइ मालामाल

निर्णय गर्दै मेयर हमाल, आफ्नै भाइ मालामाल

Trulli
ADVERTISEMENT

धनगढी । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले आफ्नै भाइलाई लाभ हुने गरी निर्णय गरेको तथ्य बाहिरिएको छ । धनगढी उपमहानगरको १९ वडामध्ये वडा नम्बर १ र ४ मा मात्र कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको पाइएको हो । 

गत असार ३१ गते बसेको  उपमहानगरपालिकाको कार्यापालिका बैठकले वडा नम्बर १ र ४ लाईमात्र आवासीय क्षेत्र भन्दै जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेपछि स्थानीयले आपत्ति जनाएका हुन् । 

उपमहानगरपालिकाले गरेको उक्त निर्णय नगरप्रमुख गोपाल हमालको व्यक्तिगत स्वार्थमा केन्द्रित रहेको स्थानीयले दाबी गरेका छन् । उपमहानगरपालिकाले जग्गा कित्ताकाट फुकुवा गरेकै दिन नगरप्रमुख गोपालका भाइ श्याम हमालले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित जग्गा कित्ताकाटसमेत गराएको पाइएको छ ।

श्यामले ११९ नम्बरको कित्ताकाट गरी दिनेश ट्रेडिंग हाउसको नाममा सोही दिन पास गरेका छन् । जग्गा कित्ताकाटका लागि ३१ गते उनको बाहेक अन्य कुनै व्यक्तिले दर्ता गराएका छैनन् । उद्योग घाटामा गएको देखिने भएपछि श्यामले आफ्नो जग्गालाई उद्योगको नाममा कित्ताकाट गरी बैंकको ऋण पुँजी बृद्धि गरेका हुन् ।

यही १ भदौमा धनगढी उपमहानगरपालिकाको कार्यपालिका बैठक बस्यो । बैठकमा धनगढीका कित्ताकाट फुकुवा नभएका अन्य वडाहरूले फुकुवाका लागि प्रस्ताव पेश गरे । तर, उक्त प्रस्तावलाई कार्यपालिका बैठकले विभिन्न कारण देखाउँदै फुकुवा गरेन ।

कार्यपालिका बैठकको निर्णय नम्बर १३ मा भनिएको छ, ‘भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ मा भएको व्यवस्थाअनुसार जग्गा वर्गीकरणका लागि वडा नम्बर २, ३, ५, ६, ७, १०, ११ र १४ बाट सिफारिस भइ आएकाले त्यसमाथि छलफल गर्दा अझै वडा कार्यालयले व्यापक छलफल गरी दीर्घकालीन असर नपर्ने गरी कृषि क्षेत्र र गैर कृषि क्षेत्र तोक्न अर्को बैठकमा पेश गर्ने निर्णय गरियो ।’

धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धर्मराज ओझाले नियमसँग कित्ताकाट फुकुवा प्रक्रिया अघि बढाउँदा कार्यपालिकाको बैठकले पास नगरेको बताए । ‘अन्य वडाले के गर्‍यो त्यो मलाई थाहा छैन । तर, मैले यस वडाका बुद्धिजीवी, निवर्तमान वडाध्यक्ष, जनप्रतिनिधि, राजनीतिक दल, सरोकारवालाहरू सबै पक्षसँग छलफल गरी आवासीय क्षेत्रबारे सुझाव लिई कार्यपालिका बैठकमा पेश गरेको थिए । तर, बैठकले निर्णय पास नगर्दा वडावासीले समस्या झेल्नुपरेको छ’, उनले भने ।

उनले वडा नम्बर १ र ४ को कित्ताकाट फुकुवा गर्ने दिनको बैठकमा आफू पनि सहभागी रहेको बताउँदै ‘वडा नम्बर २ को पनि सोही दिन फुकुवा गराउने भनिरहेका थिए । तर, मैले वडाका सरोकारवालाहरूसँग छलफल गरेर उनीहरूको सुझावका आधारमा अघि बढ्ने भनेर फिर्ता भएको थिएँ ।’

धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ र ४ को कृषि तथा गैर कृषि क्षेत्र पहिचान नगरी आवासीय क्षेत्र घोषणा गरेको थियो । २०६८ को जनगणना अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा मुख्य सडकको दक्षिण क्षेत्रलाई कृषि क्षेत्र देखाइएको छ भने वडा नम्बर ४ का बसपार्क क्षेत्रदेखि केहीमा बस्ती र अन्य क्षेत्रमा कृषि र वन क्षेत्र देखाइएको छ ।

संघीय भूमि व्यवस्था मन्त्रालयले २४ जेठमा कृषियोग्य भूमि र आवासीय क्षेत्रको जग्गाको कित्ताकाट गर्न रोक लगाएको थियो । संघीय भूमि व्यवस्था मन्त्रालयले तराई र भित्री मधेशमा एक रोपनी पाँच आना ३.६ दाम (६७५ वर्गमिटर) र उल्लेखित क्षेत्रबाहेकका भूभागमा एक रोपनी १५ आना एक पैसा तीन दाम (एक हजार वर्गमिटर) क्षेत्रफलभन्दा कम हुने गरी कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ ।

धनगढी–१ का वडा अध्यक्ष सन्तोष मुड्भरीले आफ्नो वडामा आवासीय क्षेत्रमात्रै रहेको बताए । ‘वडामा अहिले पनि कृषि व्यवसाय भइरहेको छ’, मुड्भरीले भने, ‘तर ती क्षेत्र भविष्यमा आवासीय क्षेत्रनै हुने देखिएका कारण अहिले कित्ताकाट खुलाइएको हो ।’

धनगढी–४ का वडा अध्यक्ष बुद्धि खड्काले पनि आफ्नो वडामा खेतियोग्य जमिन नरहेको बताए । उनले केही क्षेत्रमा कृषियोग्य जमिन भए पनि ती क्षेत्र भविश्यमा आवासीय क्षेत्र हुने र सबै क्षेत्र सडक सञ्जालसँग जोडिएका कारण कित्ताकाट गर्न मिल्ने गरी निर्णय गरिएको बताए ।

लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट वडा तहबाट खुलाउने विषय उपयुक्त नभएको स्थानीयहरू बताउँछन् ।

‘जग्गा कित्ताकाट खुलाउने हो भने सबै वडाहरूमा एकै पटक खुलाउनुपर्ने थियो’ एक स्थानीयले भने, ‘आफ्नो दुनो सोझ्याउन र आफ्ना आफन्तलाई पोसाउने काम भयो । अन्य वडाका सर्वसाधारण जनताले जग्गा खरिद बिक्री गर्न नपाउने हो ?’

‘सेवाग्राही भनेका १९ वटै वडाका हुन् । वडा नम्बर १ र ४ का मात्रै सेवाग्राही हुन र ?’ उनले प्रश्न गरे । उनले आफ्नो काम गराइसकेपछि फेरि कित्ताकाट बन्द गराउन सक्ने शंका व्यक्त गरे ।

यस विषयमा नगरप्रमुख हमलसंग बुझ्दा उनले आफूले सबै वडामा कित्ताकाट फुकुवा गर्न खोजेको भए पनि वडाबाट सिफारिस नभएका कराण रोकिएको बताए । उनले भोलि दिउँसो ३ बजे कार्यपालिकाको बैठक बस्ने जानकारी दिँदै २, ३, ५, ६, ७, १०, ११ र १४ नम्बर वडाको कित्ताकाट फुकुवाबारे भोलिको बैठकमा छलफल हुने दाबी गरे । 

तपाइको भाइको लाभका लागि मात्र दुई वडाका कित्ताकाट फुकुवा गरिएको हो भन्ने गुनासो छ ? भन्ने प्रश्नमा उनले आफू र आफ्नो भाइ जग्गाको दलाल नभएको दाबी गरे । ‘व्यवसाय गर्नका लागि भाइले जग्गाको काम गरेको होला । तर, जग्गाको दलाली गरेको होइन’, उनले भने ।