close

पाइप चोरी आरोपमा जनप्रतिनिधि पक्राउ

पाइप चोरी आरोपमा जनप्रतिनिधि पक्राउ

Trulli
ADVERTISEMENT

पोखरा । कास्कीको मादी गाउँपालिका १ का वडा सदस्य खरजंग गुरुङ पाइप चोरीको आरोपमा पक्राउ परेका छन् ।

सरकारी लगानीको थाक खानेपानीको पाइप चोरी गरेको आरोपमा उनीसँगै ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते मध्यरातमा उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रहरीका अनुसार मादी ५ काउरेबाट उनीहरु एक ट्रयाक्टर पाइप सहित पक्राउ परेका हुन् । चिहानडाँडाको पाइप लैजादै गर्दा उनीहरु पक्राउ परेको प्रहरीको भनाइ छ ।

चोरी गरिएको पाइप करिब १४ लाख रुपैयाँ बराबरको भएको अनुमान छ । उनीहरुमाथि थप अनुसन्धान गर्नका लागि ६ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

खानेपानी आयोजना समितिका एक पदाधिकारीले भने, ‘एक किसिमले खानेपानी आयोजना बेवारिसे अवस्थामा थियो, पाइप मिल्किरहेका थिए । यसरी कति पाइप बेचियो भन्न सकिने अवस्था नै छैन । उनीहरु रंगेहात पक्राउ परेका हुन् ।’

हाल थाक खानेपानी आयोजनाबाट मादी गाउँपालिका र रुपा गाउँपालिकाका वासिन्दाले खानेपानी सुविधा लिएका छन् । तर, जनसंख्या वृद्धि हुँदै गएको खानेपानीको माग धान्न नसकेपछि पुनर्निर्माण थालिएको हो ।

पाइप पनि पुरानो हुँदै गएको, पानीको प्रेसर धान्न नसकेपछि पाइपहरु फुट्न थालेकाले त्यसलाई बनाउन नयाँ र ठूलो पाइप राख्ने काम सुरु भएको थिया । यसअघि पनि पाइप चोरी हुँदै आएको बताइएको छ ।