चितवन । डेंगुको सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेंगुका कारण मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेंगु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको थियो ।
जिल्लामा हालसम्म सात सय ४३ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार ४४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेंगु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।