close

निर्वाचन आचारसंहिता पालना गर्न सुरक्षा निकायलाई निर्देशन

निर्वाचन आचारसंहिता पालना गर्न सुरक्षा निकायलाई निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा अवस्थाबारे छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले शान्तिपूर्णरूपमा सम्पन्न गर्न कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।  

त्यस्तै बैठकमा निर्वाचनका चुनौतीबारे सुरक्षा निकायका प्रमुखले अन्य सदस्यलाई जानकारी गराएका थिए । ती चुनौतीलाई समाधान गर्दै अगाडि बढ्ने रणनीति पहिल्याउन पनि सुरक्षा निकायका प्रमुखले आग्रह गरे ।  सुरक्षा चुनौती र समाधान गर्न के गर्ने भन्नेबारे प्रदेशस्तरमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने प्रस्ताव बैठकमा गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखाले पेश गरेको थियो ।

बैठकमा गृहमन्त्री खाणले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गराउन सम्पूर्ण गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिए । मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले निर्वाचन विशेष सुरक्षा योजना तयार पारेर जिल्ला जिल्लामा पठाएको छ । त्यसैका आधारमा सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयले निर्वाचनको तयारी गरिरहेका छन् ।

बैठकमा समितिमा आएका तीन नयाँ सदस्यलाई स्वागत गरिएको थियो । गृहसचिव बिनोप्रकाश सिंह, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका रथी सरोजप्रताप राणालाई बैठकमा स्वागत गरिएको थियो ।