close

सबै स्थानीय तहका वडा तहसम्म मतदाता शिक्षा

सबै स्थानीय तहका वडा तहसम्म मतदाता शिक्षा

Trulli
ADVERTISEMENT

तनहुँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय तनहुँ मतदाता शिक्षा कार्यक्रम सञ्चालनको तयारीमा जुटेको छ । 
कार्यालयले मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन जिल्लाका सबै वडातहसम्म मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो ।  निर्वाचनमा बदर मत न्यूनीकरण गर्न र मतदान गर्ने तरिकाबारे जानकारी गराउन जिल्लाका ८५ वटै वडामा मतदाता शिक्षा सञ्चालन गरिने निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी छ । कातिक १८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा सञ्चालन हुनेछ । 

मतदाता शिक्षा सञ्चालनका लागि प्रत्येक वडामा एक जना महिला स्वास्थ्य स्वयंसेविका खटाइनेछ । ‘उनीहरूले वडाका टोल टोलमा पुगेर मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउनेछन्, यसले गर्दा मतदाता मतदान गर्ने तरिकाबारे जानकार हुन्छन्,’ उनले भने । 

निर्वाचनका लागि तयार गरिएको पम्प्लेट र पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पुर्‍याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरिएको छ । निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट र पोष्टर जिल्लामा आइसकेको छ । स्थानीय तह निर्वाचनपछि तनहुँमा चार हजार १५५ मतदाता थपिएका छन् ।