close

‘आश्वासन धेरै पाइयो, विकासको अनुभूति पाइएन’

‘आश्वासन धेरै पाइयो, विकासको अनुभूति पाइएन’

Trulli
ADVERTISEMENT

पाल्पा । निस्दी गाउँपालिका–२ सहलकोटस्थित सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षको भए । 

आफ्नो जीवनकालमा विभिन्न समयमा भएको निर्वाचनमा मतदान गरे । उनि मताधिकार प्रयोग गर्न पाउने उमेरदेखि नै लगातार विभिन्न तहका निर्वाचनमा सहभागी भई मतदान गर्दै आएका छन् । तर गाउँमा  विकासको परिवर्तन नहुँदा उनि चिन्तित छन् । यसपटक आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेश तहको निर्वाचनमा मत माग्न उम्मेदवारहरू उनको घरदैलोमा पुगेका छन् । 

आफूले जानेदेखि नै सुनाएका, आश्वासन दिएका पुरानै योजना लिएर विभिन्न राजनीतिक दलका उम्मेदवार, नेता, कार्यकर्ता, स्वतन्त्र उम्मेदवार गाउँका नागरिकलाई विभिन्न योजना लिएर विश्वस्त पार्न आउने गरेको राना बताउँछन् ।

‘चुनावका बेला जहिल्यै उही पुराना योजना लिएर उम्मेदवार आउँछन्, निर्वाचन जितेर गएपछि काम केही गर्ने होइनन्, नेताको अनुहार देख्नै पाइँदैन’, उनले भने,‘सामान्य आधारभूत आवश्यकता पूरा नभएको ठाउँमा ठूला–ठूला विकासका योजना सुनाएर हामी गाउँका जनतालाई सधैँ भ्रममा पारिरहेका छन् ।’ गाउँमा दीर्घकालीन योजना बनाएर काम थालनी गर्ने हो भने धेरै कुराको विकास हुने ज्येष्ठ नागरिक रानाको भनाइ छ । 

यस गाउँमा ऐतिहासिक थुप्रै गुफाहरू छन् । यिनीहरुको संरक्षण नहुँदा यो ठाउँ सधैँ ओझेलमा परिरहेको छ । गुफा संरक्षण गरेर राम्रोसँग सञ्चालन गर्न सकेको खण्डमा आम्दानीको दरिलो आयस्रोत बन्ने उहाँ बताउँछन् । गाउँमा हिउँदयाममा सडक गुडे पनि वर्षायामका बेला सधैँ सास्ती नागरिकले भोगिरहनुपरेको छ । खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य, बाटोजस्ता सामान्य आधारभूत कुरा अझै पनि परिपूर्ति हुनसकेको छैन । जसले गर्दा यहाँबाट स्थानीय अन्यत्र बसाइँसराइ गएका छन् । 

बोलेका कुरा पूरा गर्न नसक्ने तर चुनाव आउँदैपिच्छे गाउँमा केन्द्रित भई स्थानीयलाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिँदा यसपटकको चुनावमा यहाँका मतदाता खासै उत्साहित देखिँदैनन् । अहिलेको समयमा पनि गाउँमा खानेपानी, बिजुली, सडक, शिक्षा, स्वाथ्यजस्ता समस्यासँग नागरिक जुधिरहेका छन् । आधारभूत आवश्यकता गाउँमा नहुँदा हामी जनता सधैँ अन्धकारमा नै जीवन जिउनु परिरहेको बताउछिन्, बीना गाहा । 

गाउँमा विद्युत् सेवा नहुँदा सोलार प्रणालीबाट बत्ती बालिए पनि पर्याप्त मात्रामा उपयोग गर्न स्थानीयले पाएका छैनन् । चुनावका बेला ल्याएका योजना कार्यान्वयन नहुँदा स्थानीयले उम्मेदवारलाई जनताको मन जितेर काम गर्न सुझाव दिएका छन् । 

चुनावका बेला गाउँ केन्द्रित हुने उम्मेदवार निर्वाचन जितेर सत्तामा पुगेपछि गाउँ नफर्कने, गाउँका समस्या सरकारसमक्ष नपुर्‍याउँदा विकासमा सँधै पछाडि परिरहेको तिलिसरा राना बताउछिन् । 

गाउँमा राम्रो विद्यालय नहुँदा छोराछोरी सहरबजारमा भाडामा राखेर पढाउनुपर्ने बाध्यता स्थानीयवासीले भोग्नुपरेको तिलिसराले बताइन् । उचित शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडकको राम्रो प्रबन्ध भयो भने स्थानीयले गाउँ छाड्दैनथे । सामान्य आधारभूत समस्याका कारण गाउँका उर्वरशील जमिन, थाकथलो नै छाड्न बाध्य छन् । 

मतदाताले अघिल्ला निर्वाचनका बेला गरेका बाचा, प्रतिबद्धताअनुसार गाउँमा काम नभएको असन्तुष्टि पोखिरहेका छन् ।