close

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

Trulli
ADVERTISEMENT

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको हो ।

श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताए। ‘देश आर्थिक सङ्कटमा फस्दै गएको छ । सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन’, उनले भने, ‘जसरी भए पनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो । नगरभित्रका सबै ग्रामीण सडक वर्षा सुरु हुनेबित्तिकै अवरुद्ध हुने गरेका छन् । ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी श्रमदान अभियान थालिएको हो । अभियानमा सबैको साथ र सहयोग अपरिहार्य छ ।’

नगरपालिकाले सुरु गरेको श्रमदान अभियानमा उद्योग वाणिज्य सङ्घ, खोटाङ यातायात प्रालि खोटाङ, ट्र्याक्टर तथा टिपर व्यवसायी सङ्घ, टोल विकास समिति, स्थानीय बासिन्दालगायतको सहभागिता रहेको छ । ट्र्याक्टर तथा टिपर व्यवसायी सङ्घमा आबद्ध एकजना व्यवसायीले कम्तीमा रु ४० हजार बराबरको श्रमदान उपलब्ध गराउने गरी अभियानमा सहभागी भएका छन् ।

श्रमदानको पहिलो दिन दिक्तेल–खार्मी–पाथेका सडकखण्डको करिब १२ किलोमिटर लामो सडकखण्डमा पर्ने सोल्मामा श्रमदान गरिएको हो । श्रमदान अभियानमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, वडाध्यक्ष ध्रुवविक्रम राई, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो ।

जिल्लाको उत्तरी क्षेत्र जोड्ने उक्त सडकखण्डमा सडकमाथिबाट झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने, झाडी सफा गर्नेलगायतका काम गरियो । पहिलो दिनको श्रमदानमा चारवटा ट्रयाक्टर र एउटा जेसिबी प्रयोग गरेर खाल्डाखुल्डी पुरिएको वडा नं २ सोल्माका वडाध्यक्ष राईले बताए।

श्रमदान अभियानअन्तर्गत दिक्तेल–खार्मी–पाथेका सडकखण्डको सोल्मामा बगरेभञ्ज्याङबाट रोडा (ढुङ्गाको मसिनो टुक्रा) ल्याएर खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । नगरपालिकाको जेसिबी र व्यवसायीको ट्रयाक्टरमार्फत ल्याइएको रोडा श्रमदानमा सहभागीले गैँती, बेल्चा र कोदालो प्रयोग गरेर खाल्डाखुल्डी पुर्ने गरेका छन् ।

नगरपालिकाले थालेको श्रमदान अभियानमा ट्रयाक्टर व्यवसायीहरू स्वःस्फूर्तरूपमा सहभागी भएको मेरुङ कन्ट्रक्सन प्रालिका सञ्चालक भलकाजी पुरीले बताए। ‘जिल्लामा एक सय ३० वटा ट्रयाक्टर सञ्चालनमा छन् । नगरभित्रमात्रै ८०–८५ वटा ट्रयाक्टर नियमितरूपमा सञ्चालनमा छन् । नगरभित्रका व्यवसायीको सबै ट्रयाक्टरलाई कम्तीमा एक दिन श्रमदान गर्न अनुरोध गरिएको छ’, उनले भने, ‘दिउँदमा हिलो र वर्षामा हिलोको कारण नगरपालिकाभित्रका सबै ग्रामीण सडकमा सहजरूपमा ट्रयाक्टरसमेत सञ्चालन हुने अवस्था छैन । नगरपालिकाले थालेको श्रमदान अभियानले ट्रयाक्टर व्यवसायीलाई समेत सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

नगरपालिकाले थालेको श्रमदान अभियानमा दिक्तेल बहुमुखी क्याम्पसलगायत जिल्लाका अन्य शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीसमेत सहभागी हुने भएका छन् । जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायलाई समेत श्रमदान अभियानमा सहभागी गराइने नगरपालिकाले जनाएको छ । 

सानातिना विकासे योजनाका लागि समेत सरकारको मुख ताक्ने संस्कृतिको विकास भइरहेको अवस्थामा नगरपालिकाले श्रमदान अभियान सुरु गरेर राम्रो सन्देश दिएको वरिष्ठ पत्रकार कृष्ण आचार्यले बताए । ‘हाम्रो समाजमा आफूले गरेको फोहरसमेत अरुले नै गरिदिनुपर्ने संस्कारको विकास हुँदै गएको छ । यो राम्रो होइन’, उनले भने, ‘नगरपालिकाले सुरु गरेको श्रमदान अभियानले आफ्नो लागि आफँै गर्न सक्छौँ भन्ने सन्देश दिएको छ । यो अभियान कसैका लागि लक्षित गरेर लागू गर्नुभएन । एक जना व्यक्तिको फाइदाका लागि गर्नुभएन । सार्वजनिक सरोकारका विषयलाई समेट्न सक्नुपर्छ । त्यसो गरेको खण्डमा अभियान सफल हुन्छ ।’

नगरपालिकाले थालेको श्रमदान अभियानलाई आफूहरूको कार्यकालभरि निरन्तरता दिने योजना बनाइएको नगरप्रमुख भट्टराईले बताए। ‘पहिलो चरणमा नगरपालिकाभित्र पर्ने ग्रामीण सडक मर्मत गर्ने कामबाट सुरु गरिएको श्रमदान अभियान हाम्रो कार्यकालभरि जारी राख्ने छौँ । श्रमदान अभियानअन्तर्गत नगरपालिकाभित्रका सडक, सार्वजनिकस्थलहरुको मर्मत तथा सरसफाइ लगायतका क्रियाकलाप गरिनेछ’, उनले भने, ‘नगरपालिकाले सुरु गरेको श्रमदान अभियानले नागरिकमा श्रम संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले थालेको श्रमदान अभियानलाई जिल्लामा निकै महत्वका साथ हेरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सबै सरकारी कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मध्यपहाडी लोकमार्गबाहेक अन्य ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएका छन् ।