close

सडक मर्मत गर्न स्थानीयले गरे हप्तामा रु पाँचलाख बढीको श्रमदान

सडक मर्मत गर्न स्थानीयले गरे हप्तामा रु पाँचलाख बढीको श्रमदान

Trulli
ADVERTISEMENT

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–१ रिमचिमका स्थानीयले श्रमदान गरेर करिब सात किलोमिटर सडक मर्मत गरेका छन् । वडा कार्यालयको समन्वयमा यहाँका स्थानीयले एक हप्ता श्रमदान गरेर सडक मर्मत गरेका हुन् ।

स्थानीय श्रमदान गरेर सेतीबगर रिमचिम तिम्मा पाङखाङ, खम्वुखा, सुम्लिखा, तीन भङ्गाले, बाघखोर सडक खण्ड मर्मत गरेका हुन् । बाटो बिग्रिएर आवतजावतमा समस्या भएपछि श्रमदान अभियान सञ्चालन गरेर सडक मर्मतको काम गरिएको वडाध्यक्ष नरबहादुर राईले जानकारी दिए । वडाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीयले स्वतस्फूर्तरुपमा सहयोग गरिरहेको उनको भनाइ छ ।

‘वडाले श्रमदान अभियान सञ्चालन गरेर सडकको मर्मत,सम्भार गरिरहेका छौँ’, वडाध्यक्ष राईले भने, ‘प्रायः सम्पूर्ण सडक बर्सातले बिग्रिएको अवस्था छ । जुन काम स्थानीय सरकारको बजेटले गर्न सम्भव छैन । स्थानीयलाई श्रमदानमा जोडेर सडक मर्मत गरिरहेका छौँ । यो अभियान जारी रहन्छ ।’ वडाले थालेको कामलाई साथ दिँदै  देश विदेशमा रहेका यहाँका स्थानीयलेसमेत आवश्यक सहयोग गरेको वडासदस्य गणेश राईले बताए । साउन १ गतेबाट सुरु भएको श्रमदान अभियानमा एक सय ५५ जना बढी स्थानीयले श्रमदान गरेर सडक मर्मतमा योगदान गरेको उनको भनाइ छ । ‘आफ्नो ठाउँको विकासमा आफैँ जुट्न आवश्यक छ’, उनले भने, ‘बाटो बिग्रिएर जनजीवन प्रभावित भएपछि श्रमदान अभियानमार्फत सडक मर्मत गरेका हौँ । हामीले थालेको अभियानलाई साथ दिँदै देशविदेशमा रहेका यहाँका स्थानीयले पनि केही सहयोग गर्नुभएको छ ।’

वडा कार्यालयले ल्याएको अवधारणाअनुसार स्थानीय युवाहरु श्रमदानमा सक्रियरुपमा खटेको स्थानीयवासी लगनबहादुर राईले बताए । आफ्नो ठाउँको लागि स्थानीय नागरिकले खेलेको सानो भूमिकाले राज्यको ठूलो बजेट खर्च हुनबाट बच्ने उनको भनाइ छ । ‘वडाले ल्याएको अभियानमा हामी युवा सक्रियरुपमा जोडिएका छौँ’, उनले भने, ‘आफ्नो ठाउँको विकास आफैँले गर्ने हो । हामीले अहिले सात किलोमिटर बढी सडक मर्मत गरेका छौँ । हामीले गरेको श्रमदानले राज्यको केही बजेट जोगिएको छ ।’

श्रमदानमार्फत सडकको नाली कटाउने, खाल्डाखुल्डी पुर्ने, आसपासको झाँडी हटाउनेलगायतका काम भइरहेको स्थानीय युवा रामचन्द्र राईले बताए । सडकको मर्मतमा स्थानीय सक्रिय भएर लागेपछि अहिले आवतजावतसँगै खाद्यान्न ढुवानीमा सहजता थपिएको उनको भनाइ छ । ‘स्थानीय आफैँ मिलेर सडक मर्मत गरेपछि आवतजावतमा सहजता छ’, उनले भने, ‘बिरामी हुँदा घरसम्म एम्बुलेन्स आउन सक्छ । आफ्नो ठाउँको विकासलाई दिगो बनाउन स्थानीय आफैँ अग्रसर हुन आवश्यक छ । श्रमदानमार्फत सडक मर्मत गरेपछि हामीलाई सहज भएको छ ।’

बर्सातको कारण वडाभित्रका विभिन्न ठाउँका सडकमा क्षति पुगेकोपछि सहज आवतजावतको लागि सडक मर्मत गरिएको स्थानीय शिक्षक हर्कराज राईले बताए । वडाले थालेको अभियानमा स्थानीयले उत्साहजनक रुपमा श्रमदान गरेको उनको भनाइ छ ।  

युवाको सक्रियतामा भएको श्रमदान अभियानमार्फत सात दिनमा रु पाँच लाख बढीको काम भएको स्थानीय सीताराम राईले बताए । धेरै ठाउँमा सडक बिग्रेको कारण वडामा आएको बजेटले सडक मर्मत गर्न असम्भव भएपछि श्रमदानमार्फत काम गरिएको उनको भनाइ छ ।