close

वीरगञ्जको आदर्शनगरमा खानेपानी मेसिन जडान

वीरगञ्जको आदर्शनगरमा खानेपानी मेसिन जडान

Trulli
ADVERTISEMENT

पर्सा- बढ्दो खानेपानीको समस्यालाई दृष्टिगत गरी वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा आज निःशुल्क खानेपानी मेसिन जडान गरिएको छ ।
    
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले जडान गरेको निःशुल्क खानेपानी मेसिनको एक कार्यक्रमका बीच महानगरपालिकाका प्रमुख राजेशमान सिंहले उद्घाटन गरे ।
    
रुङ्टा वेलफेयर सोसाइटीको आर्थिक सहयोगमा आदर्शनगर चोकमा निःशुल्क खानेपानी मेसिन, पानी ट्याङ्की र मोटर जडान गरिएको हो । महानगरभित्र केही समययता देखिएको खानेपानीको समस्यालाई केही हदसम्म भए पनि स्थानीयलाई राहत पुग्ने महानगर प्रमुख सिंहले बताए ।
    
प्रतिकूल मौसम र भूजल साविकको सतहभन्दा तल झर्दा वीरगञ्जसहित तराई–मधेसका अधिकांश स्थानमा देखिएको खानेपानीको समस्यालाई समाधान गर्न महानगर लागेको उनको भनाइ छ । आगामी दिनमा वीरगञ्जका अन्य स्थानमा पनि यस्तै निःशुल्क खानेपानी मेसिन जडान गरिने महानगर प्रमुख सिंहले बताए । 

पानीको मुहान सुकेर खानेपानीको अभाव झेल्दै आएका नगरवासीलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले खानेपानी मेसिन जडान गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए । खानेपानीको समस्यासँग जुधिरहेका नगरवासीका लागि ट्याङ्करबाट खानेपानी वितरण गर्दै आएको जनाउँँदै महानगर प्रमुख सिंहले अत्यावश्यक स्थानमा ट्याङ्की र धारा जडान गर्ने कार्यलाई तीव्रता दिइएको बताए । 
    
खानेपानी संस्थानको पाइपलाइन विस्तार भएका वडा नं १ देखि १७ र १९ मा धारा जडान गर्नुका साथै पाइपलाइन नपुगेका स्थानमा ट्याङ्कीमार्फत अस्थायीरूपमा पिउने पानीको व्यवस्था मिलाउन सुरु गरिएको उनको भनाइ छ । महानगरले आइतबार वडा नं १ र १५ का सार्वजनिक स्थानमा १० हजार लिटरको ट्याङ्की राखेर पिउने पानीको प्रबन्ध मिलाएको छ । 
    
यस्तै घरघरमा रहेका चापाकल सुकेर पानीको समस्या भोग्दै आएका वडावासीलाई खानेपानीको व्यवस्था मिलाउन वडा नं २५ का वडाअध्यक्ष आशुतोष चतुर्वेदीले आफ्नो व्यक्तिगत खर्चमा ट्याङ्की जडान गरेका छन् । सबैको प्रयास र हातेमालोबाट मात्रै प्राकृतिक विपत्तिको सामना गर्न सकिने भएकाले वडावासीका लागि आफ्नै लगानीमा १० हजार लिटरको ट्याङ्कीमार्फत ठाउँठाउँमा पानीको प्रबन्ध मिलाएको उनले बताए।