close

गरिब तथा विपन्नलाई सँगसँगै लिएर अघि बढ्दै खैरहनी

गरिब तथा विपन्नलाई सँगसँगै लिएर अघि बढ्दै खैरहनी

Trulli
ADVERTISEMENT

चितवन– खैरहनी नगरपालिकाकाले चालू आर्थिक वर्षदेखि व्यवसायिक खेती गर्न इन्छुक विपन्न तथा गरिब किसानलाई जग्गा भाडामा अनुदान दिने भएको छ ।  

विपन्न तथा गरिब किसानले व्यवसायिक खेती गर्न भाडामा लिएकाे जग्गाको शतप्रतिशत भाडा नगरपालिकाले तिरिदिने नगरप्रमुख शशी कुमार खनियाँले जानकारी दिए । ‘खेती गर्न इच्छुक गरिब, विपन्न छन्, घडेरी छ तर खेती गर्न जमिन छैन भने उहाँहरुले भाडामा लिएको जग्गाको रकम नगरपालिकाले तिर्ने छ ,’ उनले भने । 

किसान आफैँले भाडामा लिएको जग्गाको सम्झौताअनुसार नगरपालिकाले तिर्ने वा पालिकाले सार्वजनिक सूचना जारी गरेर जग्गा भाडामा लिएर विपन्नलाई दिने भनेर कार्यविधि बन्दै गरेको उनले बताए । ‘कति कठ्ठासम्मको जग्गाको भाडा उपलब्ध गराउने भनेर कार्यविधि तयार गरिँदै छ ।’ हाल एक वर्षको लागि जग्गाको भाडा सम्झौता गरिने र हरेक वर्ष पालिकाको बजेट अनुसार त्यसलाई नविकरण गरिने उनले जानकारी दिए ।

यस्तै, गत आर्थिक वर्षमा नगरपालिकामा ‘विपन्न करेसाबारी कार्यक्रम’ सञ्चालन गरिएको उनले बताए । विपन्न परिवारले घर वरिपरि तरकारि उत्पादन गरेमा चामल किन्ने रकम नगरपालिकाले उपलब्ध गराउने गरि उक्त कार्यक्रम सञ्चालन गरिएकाे उनले जानकारी दिए । उक्त कार्यक्रममार्फत ३९५ घरधुरीले चालम किन्ने रकम प्राप्त गरेको उनले बताए ।

संघ सरकारले गरिब तथा विपन्न समुदायको तथ्यांक संकलन गरेको भएपनि कार्ड उपलब्ध नगराएको उनले बताए । साे अवस्थामा दुई कठ्ठाभन्दा कम जग्गा भएको, कुनैपनि आर्थिक आम्दानीको नभएको परिवारलाई वडाको सिफारिसमा नगरपालिकाले विपन्न मानेको उनको भनाइ छ । 

दुईवटा अण्डा र दुई गिलास दुध खान पाउने गरेर प्रत्येक विपन्न बालबालिकालाई पोषण भत्ताको कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको नगरप्रमुख खनियाँले जानकारी दिए । उनको अनुसार सुनौलो हजार दिनका विपन्न बालबालिकालाई पोषण भत्ता उपलब्ध गराइएको छ। 

यस्तै, विपन्न परिवारका कक्षा १२ सम्म अध्ययन गरेका छोरीहरुलाई स्नातक पढाउन नसकेको अवस्थामा  नगरपालिकाले पढाउने नगरप्रमुख खनियाँले बताए । 'घरबाट पढाउन नसकेका विपन्न छाेरीलाई नगरपालिकाले निःशुल्क स्नातक पढाउने कार्यक्रम छ,' उनले भने ।नगरपालिकाका २० स्थानमा बिहान २/३ घण्टा ‘होमवर्क क्लास’ सञ्चालन गर्ने योजना रहेको उनले बताए । साक्षरता कम भएको विपन्न वस्तीमा ‘होमवर्क क्लास’ स्थापना गरिने उनले पालिकाखबरलाई जानकारी दिए । उनले भने, 'पङ्खा, कार्पेटहरु ओछ्याइएको राम्रो वातावरण भएको कक्षा बनाइने छ ।'  

गरिब तथा विपन्न समुदायका नि:शुल्क स्वास्थ्य बिमाको कार्यक्रम पालिकाले सञ्चालन गरिरहेको उनले बताए । ‘पाँच जनासम्म सदस्य रहेको परिवारको स्वास्थ्य बिमा नि:शुल्क गरिएको छ,’ उनले जानकारि दिए । 

ड्रागन खेती, च्याउ खेती, मार्बल/टायलसम्बन्धी तालिम, हाउस वाएरिङ तालिम, कपाल काट्ने, साबुन, हार्पिक बनाउने जस्ता तालिम नगरपालिकाले सञ्चालन गरेको उनले बताए । नगरपालिकाले विपन्न तथा गरिबहरुले उक्त तालिमबाट सिकेको सीपको प्रयोग गर्न चाहेमा नगरपालिकाले बीउ, पूँजीसमेत उपलब्ध गराउने उनले बताए । 

उनले भने, ‘गरिब तथा विपन्नको लागि ३०/४० ओटा प्रभावकारी कार्यक्रमहरु नगरपालिकाले ल्याएको छ । यसको लागि बजेट पनि छुट्याइएको छ ।