close

२८ करोडको सभागृह एक वर्षदेखि अलपत्र

२८ करोडको सभागृह एक वर्षदेखि अलपत्र

Trulli
ADVERTISEMENT

कैलाली- धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा निर्माण गरिएको सभाहल प्रयोगविहीन बनेको छ । करिव २८ करोडको लागतमा निर्माण सम्पन्न भएको सो सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा एक वर्षदेखि अलपत्र परेको हो । 

सो सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सभाहल हस्तान्तरण गर्न सकेको छैन । धनगढी उपमहानगरपालिकाले स्वामित्वमा लिएर सञ्चालन गर्नेगरी निर्माण गरिएको सभागृहमा फर्निचर र ‘साउण्ड सिस्टम’ जडान नगर्दा स्वामित्वमा लिन नसकिएको धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्विजराज भट्टले बताए । 

सो सभागृह डेढ बिघा जमिनमा २८ करोड ५५ लाखको लगानीमा निर्माण गरिएको जनाइएको छ । सभागृह निर्माण, रङरोगन र विद्युत् जडानलगायतका सम्पूर्ण मुख्य काम २०७९ असारमा सम्पन्न भई निर्माण कम्पनीले सङ्घीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरण गरिसकेको छ । 

निर्माण कार्यसम्पन्न भएपछि हस्तान्तरणको तयारीसमेत गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि हस्तान्तरणमा ढिलाइ हुन गएको आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर सौरभ कलौनीको भनाइ छ । मन्त्रालयले सञ्चालन कार्यविधि तथा मापदण्ड बनाइरहेकाले फर्निचर र साउण्ड सिस्टमका लागि अर्को ठेक्का गर्नुपर्ने उनले बताए । 

सभागृहमा ९०० जना क्षमताको मुख्य ‘अडिटोरियम’, दुई सय जना क्षमताको सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा ‘रिहल्सलन’ कक्ष छन् । करिब चार सय गाडी अटाउने ‘अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ’ पनि तयार गरिएको छ ।