close

तमानखोलाले २७ अभिभावकविहीन बालबाललिकालाई पढाउँदै

तमानखोलाले २७ अभिभावकविहीन बालबाललिकालाई पढाउँदै

Trulli
ADVERTISEMENT

बागलुङ- तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ । गाउँपालिकाले वडा नं ३ को तमान गाउँमा ‘तमानखोला बालगृह’ सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ । 

सुरुमा ३४ बालबालिका रहेकामा अहिले २७ जना रहेका बालगृह सञ्चालक समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष झकबहादुर बुढामगरले बताए । गाउँ–गाउँमा पुगेर अनाथ बालबालिका खोजेर ल्याई यहाँ राखेर उनीहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको उनले बताए । अहिले बालबालिको पढाइ राम्रो बन्दै गएको उनको भनाइ छ ।

बालगृह सञ्चालक समितिका संयोजक बुढामगरले भने, 'बालगृह सञ्चालन ताका ३४ जना बालबालिकालाई ल्याएर यहाँ राखेका थियौँ, पछि उनीहरूको आमाबुबा कोही विदेश रहेछन्, आएर लगे । अहिले २७ जनालाई राम्रो व्यवस्थापनका साथ लालनपालन र पढाउने काम भइरहेको छ । समय–समयमा विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्ने गरेका छन् ।' 

उनले बालगृह गाउँपालिकाको लगानीमा सञ्चालन गरिएको जानकारी दिए । बुढामगरका अनुसार गाउँपालिकाले तमान गाउँमा घरभाडामा लिएर बालगृह सञ्चालन गरेको छ । बालगृहमा कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने बालबालिका छन् । 

गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले कुनै पनि बेसहारा बालबालिकाले दुःख नपाउन् भन्ने उद्देश्यले बालगृह सञ्चालन गरेको बताए । बालबालिकालाई पालनपोषण गर्ने, १२ सम्म पढाउने र विभिन्न किसिमका सीपमूलक तालिम दिने, रोजगारीको व्यवस्था मिलाउनेलगायत काम गरिने उनको भनाइ थियो । पालिकाले ‘तमानखोला विकास कोष’ निर्माण गरेर बालगृह सञ्चालन गरेको अध्यक्ष बुढामगरले बताए । 

'हाम्रो पालिका अलि पिछडिएको ठाउँमा पर्छ, यसले गर्दा यहाँ थुप्रै चुनौती छन्, त्यसलाई चिर्दै विकास गर्ने हाम्रो लक्ष्य हो, पूर्वाधार विकासका काम त हामीहरूले निरन्तर गर्दै आइरहेका छौँ, पोहोर सालदेखि आमाबाबु गुमाएर बेसहारा बनेका बालबालिकालाई पालिकाले अभिभावकत्व गरी उनीहरूको पालनपोषण र शिक्षादीक्षा दिने कामको थालनी गरेका छौँ', अध्यक्ष बुढामगरले भने, 'अहिले बालबालिकामा छुट्टै खालको खुसी देखिन्छ, उनीहरूको खुसीले हामीलाई पनि खुसी बनाउँछ, पढ्न नपाएका बालबालिका अहिले खुसीका साथ पढ्न पाएका छन् । अब उनीहरूलाई सीपसँग जोडेर स्वरोजगार बनाउने योजनामा छौँ ।'

बालगृहमा बस्ने बालबालिकाले स्थानीय धन गौ ज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन् । बालबालिकाको पढाइमा निरन्तर सुधार हुँदै गइरहेको विद्यालयले जनाएको छ ।