close

भद्रपुरले २६ विपन्न सन्थाल परिवारको घर बनाइदिने

भद्रपुरले २६ विपन्न सन्थाल परिवारको घर बनाइदिने

Trulli
ADVERTISEMENT

झापा– भद्रपुर नगरपालिकाले पालिकाभित्र बसोबास गर्ने सन्थाल जातिको लागि आवास निर्माण गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा ‘नगरप्रमुखसँग सन्थाल आवास कार्यक्रम’ सञ्चालनमा ल्याई आवास निर्माण गर्न लागेको हो ।

नगरपालिकाले चालु आवमा विपन्न सन्थाल जातिको आवास निर्माणका लागि टेण्डरको प्रक्रियामा रहेको नगरप्रमुख गणेश पोखरेलले बताए । उनको अनुसार आर्थिक अवस्था कमजोर भएका सन्थाल जातिको घरमाको छाना जस्ताको हुनेछ । दुईकोठे घर तयार गरिदिने अध्यक्षको भनाइ छ । नगरपालिकाले २६ विपन्न सन्थाल परिवारलाई घर बनाइने उनले बताए । सो कार्यक्रमको लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको छ । 

सन्थाल जाती बसोबास विशेषगरी झापा, मोरङ, सुनसरीमा लामो समयदेखि बसोबास गर्ने आदिवासी समुदाय हो । सो समुदायको भारतको ओडिसा, बिहार लगायतको क्षेत्रमा समेत बसोबास भएकाले विभिन्न तरिकाबाट भारततर्फ पलायन हुने क्रमसमेत बढेको हुँदा संरक्षणका लागि नगरपालिकाले आवास बनाउन लागेको उनको भनाइ छ । 

सन्थाल जातिका सबै परिवारले नगरपालिकाले प्रदान गर्ने आवास सेवा नपाउने उनले बताए । ‘पक्की घर हुनेको लागि यो सुविधा होइन । जसको माटोको कच्ची र अस्थायी घर छ । उहाँहरुको घर बनाउन लागेको हो,’ उनको अनुसार पालिकाभित्र रहेका सबै सन्थाल समूदायको आर्थिक अवस्था कमजोर छैन । तर, धेरै परिवारको आर्थिक अवस्था कमजोर रहेको र सुरक्षित आवास नभएका परिवारलाई घर बनाउन लागेको नगरप्रमुख पोखरेलले बताए । 

यस आर्थिक वर्षमा आफ्नै जग्गा भएका तर पक्की घर नभएका परिवारको लागि आवास तयार गरिँदैछ । भूमिहीन तथा सुकुमबासी परिवारलाई आवास कसरी बनाउन सकिन्छ भनेर उपाय खोजेर आगामी वर्षमा आवास निर्माण गरिने उनले बताए । 

गत आर्थिक वर्षदेखि सन्थाल समुदायको स्वास्थ्य बीमा गराएको उनले जानकारी दिए । उनले भने, ‘सन्थाल जातिको औषत आयु अरुको तुलनामा कम भएको पाइयो । ५० देखि ६० वर्षसम्म सरदर आयु छ ,’ त्यसैले नगरपालिकाले विपन्न सन्थालको स्वास्थ्य बीमा सुरु गरेको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख पोखरेलका अनुसार गत आवदेखि ६३४ सन्थाल परिवारमा नागरिकता भएका सदस्यको नि:शुल्क स्वास्थ्य बिमा गरिएको हो । आवास निर्माण र स्वास्थ्य बीमाको थालनी सन्थाल समुदायबाट गरे पनि आगामी आर्थिक वर्षदेखि नगरपालिकामा रहेका सम्पूर्ण विपन्न परिवारलाई स्वास्थ्य बीमामा जोड्दै लैजाने उनले पालिकाखबरलाई बताए ।