close

पालिकाकाे सहयाेगमा आत्मनिर्भर बन्दै त्रियुगाका महिला

पालिकाकाे सहयाेगमा आत्मनिर्भर बन्दै त्रियुगाका महिला

Trulli
ADVERTISEMENT

उदयपुर–  त्रियुगा नगरपालिकाले महिलालाई उद्यमशील बनाउनका लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरपालिकाले जनतासंग उपमेयर कार्यक्रम अन्तर्गत महिलालाई आत्मनिर्भर बनाउनका लागि सो कार्यक्रम सञ्चालन गर्दै आएको हो । 

नगरपालिकाका स्थानीय महिलाहरुलाई सीपमुलक तालिमबाट आत्मनिर्भर हुने भएपछि निशुल्क तालिम सञ्चालनमा ल्याएको नगर उपप्रमुख महेश्वरी राईले जानकारी दिइन् । साथै स्थानीय महिला शिक्षित र रोजगार भए आफ्नो अधिकारबारे जानकार हुने उनकाे विश्वास छ ।

सिपमुलक तालिमबाट रोजगार तथा आम्दानी हुने भएकोले साना उद्यमसंग जोडिन सक्ने उनले पालिकाखबरलाई जानकारी दिइन् ।  चालू आर्थिक वर्षमा जनतासंग उपमेयर कार्यक्रमका लागि भनेर ५० लाख रुपैयाँ विनियोजन गरेको उनकाे भनाइ छ।

यही बजेटबाट स्थानीय महिलाहरुलाई  सचेतना अभिवृद्धि, आर्थिक सहयोग, सामग्री सहयोग, सिप विकास तालिम, अशक्त महिलालाई औषधि उपचारलगायत कार्यक्रममा सञ्चालन गर्दै आएको बताइन् । यसका साथै नगरपालिकालमा अशक्त असहायहरु, लैङ्गिक हिंसामा परेका महिला, मानसिक असन्तुलन भएका मानिसहरुको निशुल्क उपचार तथा सेवा सुविधा पालिकाबाटै उपलब्ध गराउँदै आएको बताइन् ।

नगरपालिकामा एकल महिला, हिंसामा परेका महिला तथा इच्छा भएकाहरुलाई उद्यम विकासबाट आत्मनिर्भर बनाउने योजना रहेको छ तर उद्यमबाट धेरै उत्पादन पनि गर्न सकिएको छैन । 'बाहिरको उद्यमहरुसँग प्रतिस्पर्धा गर्न पनि सकिएको छैन । मध्यम खालको उत्पादन गरेर आयआर्जनमा महिलाहरु अघि बढेका छन्,' उनले भनिन् ।

स्थानीय महिलाहरुको आर्थिक आर्जनका लागि सामानहरु उपलब्ध गराउने, चटपटे बनाएर जिविका चलाउने महिलालाई ठेलागाडा दिने, ग्याँस, चुलालगायतका सामग्री नगरपालिकाले निशुल्क सहयोग गरेको उपमेयर राईले बताइन् ।

नगरपालिका अन्तर्गत १६ वटा वडामा रहेको स्थानीयलाई जनचेतना, विभिन्न दिवसिय अभियान सञ्चालन गरेको उनले बताइन् । १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सम्बन्धि जनचेतनाका कार्यक्रम, जनचेतनाका कार्यक्रमको प्रभावले नगरपालिकाको न्यायिक समितिमा मुद्दाहरु नपरेको उनको दाबी छ ।

प्रत्येक वडामा गएर स्थानीयहरुको के-कस्तो समस्या छ भनेर बुझ्ने गरेको उनले बताइन् । वडा/वडामा गएर समस्या बुझेर अपाङ्गता परिचय पत्र वितरण गरेको उनकाे भनाइ छ। नगरपालिकामा लैङ्गिक हिंसा कोष स्थापना गरेकोले लैङ्गिक हिंसामा परेका जुनसुकै महिलालाई सहयोग तथा उपचार गर्दै आएको उनले बताइन् ।

उनले भनिन्, 'मानसिक सन्तुलन गुमाएका महिला पुरुष मानवसेवा आश्रममा पठाउछौँ ।' गत वर्षबाट नगरपालिकाले सुत्केरी महिला, अशक्त, असाय, दलित, पिछडिएका वर्गहरुको लागि निशुल्क एम्बुलेन्स उपलब्ध गराएको उनले सुनाइन् ।