close

बाँझो जग्गा उपयोग गर्दै रुपा गाउँपालिका

बाँझो जग्गा उपयोग गर्दै रुपा गाउँपालिका

Trulli
ADVERTISEMENT

कास्की- रुपा गाउँपालिकाले पालिकाभित्र बाँझो रहेका खेतीयोग्य जग्गाको उपयोग गर्ने गरी भूमि बैंक स्थापना गर्ने तयारी गरेको छ । भूमि बैंक स्थापनाका लागि पालिकाले भूमि बैंक कार्यक्रम सञ्चालन कार्यविधि तयार गरी गाउँसभाबाट पारित गरी प्रक्रिया अघि बढाएको छ ।

गाउँपालिकाले भूमि बैंक सञ्चालन गर्नका लागि बाँझिएका जग्गाको सूचीकरण गर्न भूमि बैंकमा राख्न चाहने सर्वसाधारणका लागि आवेदन माग गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए । वडामार्फत आवेदन माग गरिएको उल्लेख गर्दै उनले प्राप्त आवेदन अनुसार जग्गाको पहिचान गरिने बताए । 

सूचीकृत भइसकेपछि ती जग्गामा व्यवसाय गर्न चाहनेका लागि आवेदन माग गरिने अध्यक्ष ओझाले बताए । कार्यविधि अनुसार जग्गा जमिन बाँझो राख्ने प्रवृत्ति न्यून गर्नु यस कार्यक्रमको उद्देश्य हो । त्यस्तै लगानीको दायरा बढाइ युवामा उद्यमशीलता बढाउनुका साथै गाउँपालिकाभित्रका बाँझा जग्गा भाडामा लिई आन्तरिक तथा बाह्य लगानी भित्र्याउने योजना रहेको अध्यक्ष ओझाले बताए । 

शिक्षित र उत्साही युवालाई कृषि तथा उद्यममूलक व्यवसायतर्फ आकर्षित गरी स्वरोजगारी सिर्जना गरिने कार्यविधिमा उल्लेख छ । फलफूल, तरकारी, खाद्यान्न तथा अन्य पशुजन्य वस्तुको उत्पादन र उत्पादकत्व वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाइने अध्यक्ष ओझाको भनाइ छ ।