close

३१२ जना सुत्केरीलाई पोषण भत्ताबापत साढे १५ लाख

३१२ जना सुत्केरीलाई पोषण भत्ताबापत साढे १५ लाख

Trulli
ADVERTISEMENT

इलाम- देउमाई नगरपालिकाले सुत्केरीलाई पोषण भत्ता र मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउँदै आएको छ ।

सुत्केरी शिशु पोषण व्यवस्थापान कार्यक्रमअन्तर्गत गत आव २०७९/८० मा नगरभित्रका ३१२ जना सुत्केरीलाई रू पाँच हजारका दरले रू १५ लाख ६० हजार पोषण भत्ता वितरण गरिएको नगरपालिकाका लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिए । उनका अनुसार चालु आवको पहिलो त्रैमासिकमा मात्र ११० जना सुत्केरीले पोषण भत्ता लिएका छन् । 

गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रका आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिका साथै आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि कार्यक्रम ल्याइएको नगरप्रमुख सूर्य पोख्रेलले बताए । “सुत्केरी आमा र नवजात बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवासम्बन्धी सकरात्मक सन्देश प्रवाह गर्नका लागि उक्त कार्यक्रम लागू गरिएको हो”, उनले भने । 

सुत्केरी पोषण भत्ता एक महिलालाई दुईवटा बच्चा वा दुईपटक प्रसूति सेवासम्म मात्र उपलब्ध गराइने नगरप्रमुख पोख्रेलले जानकारी दिए । उनका अनुसार नगरपालिकाले चालु आवमा यस कार्यक्रमका लागि २० लाख विनियोजन गरेको छ ।

त्यस्तै, पालिकाले कुनै पनि कारणबाट मृत्यु भएका मृतकका परिवारलाई दाहसंस्कार खर्चबापत पाँच हजार उपलब्ध गराउँदै आएको छ । दाहसंस्कार खर्च वितरणसम्बन्धी कार्यविधि पारित गरी मृतकका परिवारलाई दाहसंस्कार खर्च वितरण गर्दै आएको नगरप्रमुख पोख्रलले बताए । दाहसंस्कारबापत गत वर्ष नौ लाख ५० हजार खर्च भएको लेखा अधिकृत येक्तेनले जानकारी दिए ।