close

६०० मिटर सडक मर्मत गर्दा स्थानीय आन्दोलित

६०० मिटर सडक मर्मत गर्दा स्थानीय आन्दोलित

Trulli
ADVERTISEMENT

सुनसरी- वराहक्षेत्र नगरपालिकाले सडक अतिक्रमण गरेका संरचना हटाउन थालेपछि स्थानीयले अनसन थालेका छन् । नगरपालिका-६ महेन्द्र गेटदेखि चक्रघट्टी बसपार्क सम्मको सडक बिस्तार गर्ने योजना अहिले विवादित बनेको हो । 

नगरपालिकाका मेयर रमेश कार्कीले आफ्नो घरलाई जोगाएर अरूलाई अन्याय पूर्वक सडक मापदण्ड तोकेको स्थानीयहरूको आरोप छ ।  
मेयर कार्कीले आफ्नो घर छेउ छाउ ६३ फुट सडक मापदण्ड कायम गरेर अरूकोमा ८२ फुट राखी ड्रोजर चलाउने चेतावनी दिएपछि स्थानीयहरू अनसन बस्न थालेका हुन् । केही स्थानीयहरू चक्रघट्टी बसपार्कमा अनसनरत छन् । 

करिब ६०० मिटर सडक मर्मत गरिँदा ६ ठाउँ मापदण्ड फरक-फरक बनाएको स्थानीयहरूको आरोप छ । नगरव्रमुख रमेश कार्कीको घर भएको स्थानमा ६३ फुट कायम गरिएको छ  भने २०० मिटर पर नपुग्दै ८२ हुँदै र चक्रघट्टी बसपार्क सम्म पुग्दा ८५ फुट कायम गरेर मनपरीको मापदण्ड बनाएको स्थानीयहरूको आरोप छ  । 

नगरप्रमुख कार्कीलाई पालिकाखबरले ६०० मिटर सडकको चौडामा किन फरक-फरक मापदण्ड राख्नुभयो ? एउटै चौडा कायम गर्न सकिन्न र ? भन्ने प्रश्न गर्दा उनले भने, "सडकको स्थलगत अध्ययन गर्न आउनुस् । कतै नाली छ कति बसपार्क छ । त्यसैले फरक फरक भएको सत्य हो तर बसपार्कमा ६० फुटमात्र कायम गर्दा अतिक्रमण गर्नेहरूलाई दुख लागेको होला तर कसैलाई अन्याय गरिएको छैन ।"

नगरप्रमुख कार्कीकाअनुसार ६०० मिटर सडक निर्माण गर्दा २२५ जनाले अतिक्रमित संरचना भत्काउनुपर्छ । धेरैले आफूले भत्काउन थालेका छन् । उनका अनुसार २०५५ सालदेखि बसपार्क अतिक्रमण गर्ने र २०६४ सालदेखि नाली अतिक्रमण गरी बस्ने ६/७ घरमात्र आन्दोलनमा छन् भने बाँकी ९०  प्रतिशतले नगरपालिकाको निर्णय मानेका छन् । उनले पालिकाखबरलाई थपे,"मैले ६/७ जनाको कुरा मान्ने कि सयौंजनाको ? उहाँहरू अन्यायमा परेको हो भने नगरपालिकाले पनि उचित सम्वोधन गर्नेछ जसका लागि म अन्यायमा परेँ भनेर आउनु पर्‍यो तर, मेरो संरचना किन भत्काइयो भन्दै सडक बनाउने योजना विफल बनाउने कोशिसमात्र हो भने अतिक्रमित संरचना भत्किन्छ ।"

महेन्द्र गेटदेखि मुनाल चौकसम्म सडक अतिक्रमण भएको बताउँदै नगरप्रमुख कार्कीले ती सबै घरहरू हटाउन पटक-पटक सूचना समेत प्रकाशन गरिसकेको बताए ।