close

छाउगोठ मुक्त कार्यान्वयनमा ‘जोखाना’ चुनौती

छाउगोठ मुक्त कार्यान्वयनमा ‘जोखाना’ चुनौती

Trulli
ADVERTISEMENT

जुम्ला- पतारासी गाउँपालिका वडा नम्बर ४ लाई छाउगोठ मुक्त गाउँ घोषणा गरिएको छ । वडा कार्यालयले विभिन्न समयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी सो घोषणा गरिएको हो ।

वडा कार्यालयले छाउगोठ मुक्त घोषणा गरे पनि कार्यान्वयनमा चुनौती हुनसक्ने जनप्रतिनिधीको चिन्ता छ । पालिकाखबरसँग पतारासी-४ का वडाध्यक्ष कालीबहादुर रावल भन्छन्, ‘कार्यान्वयनमा समस्या छ । विशेष गरी यो अभियान सफल हुनका लागि धामीझाँक्रीले महिनावारीको बारेमा बुझ्नुपर्छ । सकारात्मक बोलिदिनु पर्छ । हामीले धामीहरूलाई पनि अभिमुखीकरणमा सहभागी गराएर धेरै सुधार भएको छ ।’ उनका अनुसार घोषणा सफल हुने भएकै कारण गत पुस २५ गते छाउगोठ मुक्त घोषणा गरिएको हो ।

तर, विगतमा धामीले जोखाना हेर्दा ‘देवता रिसाउने प्रवृत्ति’ दोहोरिएमा समस्या हुने भन्दै बर्सेनि जनचेतनामुलक कार्यक्रम आवश्यक हुने वडाध्यक्षको भनाइ छ । उनका अनुसार पहिला कोही बिरामी भएर जोखाना हेराउन धामीकहाँ जाँदा महिनावारी भएकाे बेला छाउगोठमा नबस्दा देवता रिसाएको भन्दै समस्या निकाली दिने प्रवृत्ति थियो । सोही कारण सरकारले छाउपडी प्रथा उन्मूलन निर्देशिका जारी गरेको ६ वर्ष नाघिसक्दासमेत पतारासीमा घोषणा गर्न नसकेको वडाध्यक्ष रावल स्वीकार्छन् ।

पछिल्लो समय जनप्रतिनिधि र कर्मचारीहरूको सकृयतामा धामीहरूले पनि बुझ्न थालेको हुँदा छाउगोठ मुक्त गाउँ घोषणा गर्न सफल भएको वडा कार्यालयले जनाएको छ । पतारासी-४ मा रुमा, लाम्री, भोटगाउँ, डिल्लीचौर र तिर्खु गरी ५ वटा गाउँ छन् । तिर्खु गाउँका कालीबहादुर बोहरा पनि गाउँमा नाम चलेको धामी हुन् । उनी पनि घोषणासभामा सहभागी भएका थिए । उनले छाउपडी नमान्ने प्रतिबद्धता जनाए । छाउपडी प्रथाका मुख्य गढ मानिने देवताका धामीझाँक्री (पुजारी) ले नै छाउपडी प्रथा नमान्ने प्रतिबद्धता जनाउन थालेका छन् । कालीबहादुरजस्तै जगबहादुर बोहरा र  हासकरी बोहराले पनि छाउगोठ नमान्ने प्रतिवद्धता गरेका छन् । 

घोषणासभामा सहभागी धामीहरूले छाउपडी प्रथा मान्नु हुँदैन भनेर अठोटका साथ लाग्ने प्रतिवद्धता जनाएका छन् । छाउ नबार्दैमा कसैलाई केही भए आफूले जिम्मा लिने सहभागी धामीले दाबी गरेका वडाध्यक्ष रावल बताउछन् । तर ५ गाउँका सबै धामी उपस्थित नभएको उनको भनाइ छ । 

छाउगोठमुक्त घोषणा कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयमसेविका मायादेवी खड्काले हिजो गोठमा बसेर महिलाहरुलाई सर्पले टोक्ने, बिरामी हुने, बलात्कृत हुने र पाठेघरमा घाउ हुने आदी समस्या थियो आज गोठमा नबस्ने घोषणा पछि महिलाको जीवनमा परिवर्तन हुदै आएकोमा खुशी व्यक्त गरिन् ।

मानव अधिकारका दृष्टिले छाउपडी र नछुनेका नाममा महिलामाथि हुने भेदभाव, वञ्चिती वा निषेध एक प्रकारको ज्यादती हो । पातारासी गाउँपालिकाको महिला तथा बालबालिका शाखाले पनि महिला समूह, किशोरी समूह, बालसमूह र विद्यालयमा पैरवी गर्दै आइरहेको छ । 
छाउ गोठमुक्त घोषण कार्यक्रममा छाउपडी कुप्रथा मान्दैनौं, घरमै बस्छौं, पोसिला खानेकुरा दही, दूध जस्ता खानेकुरा खान्छु भन्ने सन्देशमूलक प्रस्तृति गरिएको थियो ।

‘सरकारले २०६४ सालमा छाउपडी प्रथा उन्मूलन निर्देशिका जारी गरेको छ । हामी पातारासी गाउँपालिका ४ का सबै घरधुरीले आजदेखि कोही कसैले छुई भएको अवस्थामा गोठमा नभई घरमा बस्ने भनी साझा प्रतिबद्धताका साथ छाउ गोठमुक्त गाउँ घोषणा गर्दछौँ । कोही कसैले छाउ भएको अवस्थामा पुनः छाउगोठ प्रयोग गरेको भेटिएमा कानूनबमोजिम सजायको भागीदार हुने छौँ’, प्रतिबद्धतामा भनिएको छ ।

छाउगोठ मुक्त घोषणा कार्यक्रममा सहभागी पतारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले महिनावारी हुने उमेरका सबै किशोरी तथा महिला महिनावारी हुँदा घरमै बस्दै आएपछि ४ नम्बर वडालाई छाउ गोठमुक्त घोषणा गरिएको बताए । मानव जीवनमा महिलाहरू गोठमा बस्ने कुप्रथाको समाजबाट जरो उखेल्ने कामको सुरुवात भएकोमा सबैलाई धन्यवाद दिए । यस अभियानलाई पूर्णता दिनका साथै समाजमा रहेका कुरीति र विभेद अन्त्य गर्न सक्रियताका साथ अगाडि बढ्न सबैमा अनुरोध गरे ।

पातारासी गाउँपालिकालाई छाउगोठमुक्त बनाउने अभियानअन्तर्गत यसअघि वडा नम्बर २ र ५ वडा पनि छाउगोठ मुक्त घोषणा गरिसकेको महिला तथा बालबालिका शाखा प्रमुख भगवती गिरीले बताइन् । बाँकी वडालाई पनि छाउगोठ मुक्त घोषणा गर्नका लागि गाउँपालिकाले तीव्र काम गरिरहेको गाउँपालिकाले जनाएको छ ।