close

शुद्धोधन गाउँपालिकाका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

शुद्धोधन गाउँपालिकाका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

Trulli
ADVERTISEMENT

रुपन्देही- महिला स्वास्थ्य स्वयंसेविका सुनिता चौधरीलाई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो । उनको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा घण्टा लाग्थ्यो । चौधरीलाई वडा कार्यालयले साइकल वितरण गरेको छ । साइकल पाएपछि उनले आवत जावतमा सहज भएको बताइन् । 

“हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर यात्रा गर्न कठिन थियो । एउटा साधनको आवश्यकता थियो”, चौधरीले भनिन्, “वडा कार्यालयले समयमै बुझेर साइकल वितरण दिएको छ । अब हिँडडुल गर्न सजिलो हुने भएको छ ।”

स्वयंसेविका करुणा खडकाको घरबाट स्वास्थ्य संस्था पुग्न एक घण्टा लाग्छ । करुणालाई पनि साइकल पाएपछि अब सजिलो भएको छ । “हामी वडाका हरेक काममा हिँड्नुपर्छ, पैदल हिँडेर सबै भ्याउनुपर्ने समस्या थियो”, खड्काले भनिन्, “वडा कार्यालयले साइकल दियो । अब सबै साथीलाई सजिलो हुन्छ । हामीले वडाध्यक्षलाई साइकल चाहियो भनेका थियौँ, व्यवस्था गरिदिनुभएछ ।”

शुद्धोधन गाउँपालिका वडा नं २ का १३ का महिलालाई साइकल वितरण गरेको छ । साइकल पाएपछि सुनिता र करुणा मात्रै होइन, खड्का वन स्वास्थ्य चौकीका कर्मचारी लगायत सबै स्वयंसेविका खुसी भएका छन् । उनीहरूले अझ थप स्वास्थ्य सेवा प्रभावकारी बनाउन काम गर्ने बताएका छन् । 

कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई घरदैलो सेवा गर्न सजिलो होस भन्ने उद्देश्यले वडाले साइकल वितरण गरेको बताए । 

उनले उच्च मनोबलका साथ स्वास्थ्य सेवा मात्र नभई सामाजिक अभियान, विकासका कार्यमा समाजलाई जागरूक बनाउने काम पनि गर्न स्वयंसेविकाहरूलाई आग्रह गरे ।  बालबालिका तथा मातृ मृत्युदर प्रभावकारी रूपमा घट्नुका पछाडि स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको अध्यक्ष बस्यालले बताए । 

उपाध्यक्ष शान्ता देवी ज्ञवालीले गाउँघरका डाक्टर भनेर चिनिएका स्वयंसेविकाहरूलाई आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताइन् । आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाले उच्च मनोबलका साथ सेवा प्रदान गर्न उनहरूलाई आग्रह गरिन् । 

वडाध्यक्ष कमल खड्काले वडा कार्यालयले स्वयंसेविकालाई प्रोत्साहन गर्ने, उनीहरूका आवश्यकता पूरा गर्ने जिम्मा सरकारको भएकाले आउँदा दिनमा यस्ता कार्यक्रम निरन्तर गरिने बताए । 

वडा सचिव हरि पोखरेलको स्वागत र खडवाबनगाई स्वास्थ्य चौकीका प्रमुख मदन पोखरेलको सञ्चालनमा साइकल वितरण कार्यक्रम भएको थियो।   सन् १९८८ देखि नेपाल सरकार र युएसआइडीको सहकार्यमा सुरु भएको यो कार्यक्रममा अहिले देशभर ५२ हजारभन्दा धेरै माहिलाले स्वास्थ्य स्वयंसेविकाका रूपमा स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् ।