close

गाउँपालिकाको आयोजनामा शिविर : २५८ जनाले बनाए नागरिकता

गाउँपालिकाको आयोजनामा शिविर : २५८ जनाले बनाए नागरिकता

Trulli
ADVERTISEMENT

भोजपुर- षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई लक्षित गरेर इलाका प्रशासन कार्यालय दिङ्लाबाट शिविरमार्फत नागरिकता वितरण भइरहेको छ ।

भौगोलिकरुपमा विकट मानिने भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछोका बासिन्दालाई नागरिकता प्राप्त गर्न निकै कठिन छ । यहाँका नागरिकलाई नागरिकता लिन धेरै समय र खर्च लाग्ने गरेको छ । भौगोलिक विकटताका कारण कतिपय स्थानीय लामो समयसम्म नागरिकतासमेत नबनाइ बस्ने गरेका छन् ।

नागरिकले पाएको सास्तीलाई ध्यानमा राखेर यहाँका स्थानीयलाई घुम्ती शिविर सञ्चालन गरेर नागरिकता प्रदान गरिएको छ । साल्पासिलिछो गाउँपालिका र इलाका प्रशासन कार्यालय दिङ्लाको समन्वयमा यहाँ शिविर सञ्चालन गरेर नागरिकता वितरण गरिएको हो ।

शिविरबाट घर पायकामा नागरिकता लिन पाउँदा सहजता भएको वडा नं ५ च्याक्सिलाका बासिन्दा मिङ्मा शेर्पाले बताए । भौगोलिक विकटताका कारण नागरिकता बनाउन समस्या भएको अवस्थामा गाउँमा सेवा पाउँदा खुसी लागेको उनको भनाइ छ ।

“नागरिकता लिनका लागि सदरमुकाम तथा इलाका प्रशासनसम्म पुग्न हामीलाई धेरै समय लाग्छ”, उनले भने, “त्यहासम्म पुगेर खाँदा, बस्दा र फर्कदा आठदेखि १० हजारसम्म खर्च हुन्छ, गरिब तथा विपन्न परिवारलाई खर्च जुटाउन पनि समस्या छ, घरपायकमा सेवा पाउँदा हाम्रो समय र पैसाकोसमेत बचत भएको छ ।” आफूले ४१ वर्षको उमेरमा शिविर आएको अवसरमा नागरिकता बनाएको शेर्पाले बताए । 

माघको दोस्रो हप्तासम्म सञ्चालन हुने गरी सुरुआत गरिएको शिविरबाट बिहीबार यहाँका दुर्गम मानिने वडा नं ५ र ६ का २५८ जनालाई नागरिकता वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिए । 

गाउँपालिकाका ग्रामीण क्षेत्रका नागरिकलाई सहज र सरल किसिमले सेवा दिने उद्देश्यले घुम्ती शिविरको आयोजना गरेर सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए । गाउँपालिकाको पहलमा सञ्चालन गरिएको शिविरले नागरिकलाई सहजता थपिएको अध्यक्ष कुलुङको भनाइ छ । घर पायकमा सेवा प्रवाह गरिएकाले नागरिकको समय र पैसाको बचत भएको उनले बताए । 

“नागरिकलाई सहज सेवा प्रवाह गर्न हामी गम्भीर ढङ्गले लागि परेका छौँ”, अध्यक्ष कुलुङले भने, “भौगोलिक विकटताका कारण धेरै चुनौती पनि छन्, नागरिकको सास्तीलाई ध्यानमा राखेर सेवा प्रवाहलाई सहज र सरल बनाउने कोशिस गरिरहेका छौँ ।”