close

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक- जिल्लाको तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विधुत्तीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको  छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम दुई र मध्य दुर्गम एक गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार गरिएको हो । 

दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विधुत्तीय सेवा विस्तारलाई तीव्रता दिइएको छ । यसअघि यी गाउँपालिकाको अधिकांश क्षेत्रमा स्थानीय लघु जलविधुत् आयोजनाद्वारा बिजुली बालिएको थियो । हाल कतिपय लघु जलविद्युत् आयोजना बन्द अवस्थामा छन् भने केही जेनतेन चलिरहेका छन् । 

स्थानीयस्तरमा सञ्चालनमा ल्याइएको लघु जलविद्युत्ले आवश्यकताअनुसार विद्युत्को माग पूरा गर्न नसकेपछि प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तारलाई तीव्रता दिएको हो ।

प्राधिकरणको बनेपास्थित वितरण केन्द्रप्रमुख इञ्जिनियर अमृत अधिकारीले जिल्लाको दक्षिणी क्षेत्र डाँडापारी क्षेत्रका महाभारत, खानीखोला गाउँपालिकामा हाल केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउन धमाधम काम भइरहेको जानकारी दिए । 

उनका अनुसार प्राधिकरणले महाभारतको वडा नं ३, ४, ५, ६ र ७ मा करिब दुई हजार घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् बलेको छ । वडा नं १ मा करिब तीन सय थान मिटर पठाउने तयारी भइरहेको बताउँदै अधिकारीले वडा नं २ र ८ मा लाइन विस्तारको काम भइरहेको बताए । 

केन्द्रका अनुसार डाँडापारीकै अर्को क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामासमेत केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउने काम थालिएको छ । खानीखोलाको ५ र ७ नं वडा का केही घरमा विद्युत् लाइन पुर्‍याइसकिएको केन्द्रका सूचना अधिकारी ई सुरोज पराजुलीले बताए । 

उनका अनुसार खानीखोलाका दुई वडाका करिब एक हजार घरमा उक्त विद्युत् पुगेको हो । गाउँपालिकाको अन्य बस्तीमा लाइन विस्तार गर्दै जाने योजना केन्द्रको छ । खानीखोला–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले दुई सय ६७ मिटर गाउँमा आइपुगेको बताउँदै लाइन जोड्ने काममा केही ढिलाइ भएको बताए । 

बुद्धिबहादुरका अनुसार ठेकेदार कम्पनीले बिगे्रको ट्रान्समिटर जोडेका कारण एक सयभन्दा बढी घरमा विद्युत् सेवा पुगेको छैन । यस्तै वडा नं ५ मै आफ्नो घरमा केन्द्रीय प्रसारण विद्युत् जोडिदिन तीन सय २२ स्थानीयले मिटरका लागि निवेदन दिएको स्याङ्तानले जानकारी दिए । यसैगरी रोशी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको जनाइएको छ ।