close

‘लिजाको नजिताअनुसार जिल्लाको दोस्रो हुँदा खल्लो लागेको छ’

‘लिजाको नजिताअनुसार जिल्लाको दोस्रो हुँदा खल्लो लागेको छ’

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले जनप्रतिनिधिको योजना र कर्मचारी सकृयताका कारण स्थानीय तह क्षमता विकास स्वमूल्यांकन (लिजा)मा उत्कृष्ट अंक ल्याउन सफल भएको बताएका छन् । 

पालिकाखबरसँगको संवादमा नगरप्रमुख खत्रीले लिजाको सबै विषयक्षेत्र र सुचक सुधार गर्ने योजनाका साथ अघि बढ्दा राम्रो अंक आए पनि आफू खुशी हुन नसकेको बताए,"भक्तपुरकै प्रथम तथा कम्तीमा बागमती प्रदेशकै उत्कृष्ट नगरपालिका हुने गरी हामीले क्लियर भिजनका साथ काम गरेका थियौं तर नजिता अनुसार जिल्लाको दोस्रो हुँदा खल्लो लागेको छ ।" 

उनका अनुसार आगामी वर्षको लिजामा जिल्लाकै प्रथम तथा देशकै उत्कृष्ट नगर बनाउने गरी अहिलेदेखि नै शासकीय प्रबन्ध, उत्कृष्ट प्रशासन, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादनलाई उत्कृष्ट बनाउदै लैजाने उनको योजना छ । 

नगरपालिकाको नतिजा गत वर्षको तुलामा करिब ३५ प्रतिशतले उकालो लागेको छ । स्थानीय तह क्षमता विकास स्वमूल्यांकन (लिजा)को तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष सुधार भएको हो । 

स्थानीय तहको वर्तमान अवस्था र सुधार गर्नु पर्ने पक्षहरूको लागि आवश्यक रणनीतिक तय गर्न अहम् भूमिका निर्वाह गर्ने एउटा औजारको रूपमा रहेको लिजाको नतिजा अनुसार चाँगुनारायण नगरपालिकाको मूल्यांकनअनुसार गत आर्थिक वर्ष २०७८/०७९ मा ४९.२५ थियो । चालु आर्थिक वर्ष २०७९/८० मा भने सो अंक बढेको छ । 

सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तह क्षमता विकास महाशाखाले प्रत्येक पालिकाको मूल्यांकन गर्दै आएको छ । सोही मूल्यांकनको नतिजा अनुसार चाँगुनारायणले ८५ प्रतिशत अंक प्राप्त गरेको छ । गत आर्थिक वर्षभन्दा यस वर्ष अंक बढाएको चाँगुनारायण नगरपालिकाको समग्र स्थिति प्रतिशत ८८.१, प्रक्रियागत प्रतिशत ८५.९ र परिमाणात्मक स्थिति प्रतिशत ८३.३३ रहेको छ । 

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयक्षेत्रहरु शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय रहेका छन् ।