close

४ दिनका लागि ‘नमुना पालिका’ हाँकेका सागर र एञ्जिला

४ दिनका लागि ‘नमुना पालिका’ हाँकेका सागर र एञ्जिला

Trulli
ADVERTISEMENT

ललितपुर- केही युवाहरूको समूहको बीचमा एक जना नमस्कार गर्दै अघि बढ्छन् । उनीसँगै अरू युवाहरू झण्डा बोकेर साथमै हिँड्छन् । प्ले कार्डसँगै केही झण्डा बोकेकाहरूको हाउभाउ र हल्ला ठ्याक्कै चुनावताकाकै जस्तो देखिन्छ । गतिविधि हेर्दा लाग्छ महाङ्काल गाउँपालिकामा चुनाव लागिसकेको छ । 

अर्कोतिर मतदान केन्द्रमा केही मतपेटिका राखिएका छन् । छुट्टै बेन्चमा मतदान अधिकृत बसिरहेका छन् । भोट हाल्नेहरू दुई लाइनमा उभिएका छन् । पूरै निर्वाचनमय देखिएको सो कार्यक्रम वडा स्तरीय युवा क्लबमा आबद्ध युवालाई संसदीय अभ्यास सिकाउँदा महांकाल गाउँपालिकामा देखिएको दृश्य हो । 

अर्को बेञ्चमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा पार्टीका उम्मेद्वारहरू आफ्नो उम्मेदवारी दर्ता गर्न जान्छन् । उम्मेदवारीविरुद्ध दाबी विरोध हुन्छ । निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन तथा चुनाव चिह्न प्रदानसम्मको काम गर्छ ।

गत आइतबारदेखि बुधबारसम्म चलेको युवा संसद अभ्यासमा स्थानीय तहको निर्वाचनदेखि गाउँसभा र कार्यपालिका बैठकसम्म गरिने कामको बारेमा १६ वर्षदेखि २४ वर्षका युवालाई जानकारी गराउनुका साथै प्रयोगात्मक अभ्यास गराइएको गाउँपालिकाले जनाएको छ । 

युवा संसदीय अभ्यासकै क्रममा नमुना अध्यक्षमा सागर दाहाल निर्वाचन हुन्छ । दाहालको अध्यक्षतामा गाउँसभा सुरु हुन्छ । मञ्चमा सञ्चालकको रूपमा रहेका नमुना प्रमुख प्रशासकीय अधिकृतले कार्यक्रम प्रारम्भ भएको जानकारी गराउँछन् । त्यसपछि उनले नमुना अध्यक्ष, नमुना सभाका सदस्यहरू र नमुना कर्मचारीहरूलाई पालैपालो आसन ग्रहण गराउँछन् । आसन ग्रहणपछि अध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्छन् । सभाले नीति तथा कार्यक्रम पारित गर्छ । 

सभाका नमुना उपाध्यक्ष एञ्जिला लामाले सो गाउँसभा बजेट वक्तव्य प्रस्तुत गरेपछि सो बजेटमाथि छलफल सुरु हुन्छ । त्यसपछि गाउँसभामा उठेका प्रश्नको उत्तर गाउँपालिका अध्यक्ष दाहालले दिन्छन् । गाउँसभाबाट एक जना सदस्यले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्छ । त्यसपछि जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल गरी पारित गरिन्छ । 

साथै गाउँपालिकाभित्र भएका धेरै वटा समितिहरूमध्ये आर्थिक समिति र स्थानीय परिषद् निर्माणसम्बन्धी विधेयक पनि प्रस्तुत गरी छलफल गरिन्छ । उनीहरूलाई विधेयकको बारेमा जानकारी र दफावार छलफल गरिन्छ । त्यसपछि सो विधेयक पारित गरिन्छ । 

४ दिनसम्म चलेको युवा संसदीय अभ्यासमा महांकाल गाउँपालिकाका ६ वटै वडाका २५ जना युवाहरू सहभागी थिए । वडाअध्यक्ष संरक्षक रहेको वडा स्तरीय युवा क्लबमा आबद्ध युवालाई संसदीय अभ्यासमा सहभागी गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले बताए । 

अभ्यासको सहजीकरण राष्ट्रिय युवा परिषद्, भक्तपुरका सहजकर्ताहरू श्यामकाजी खत्री र सुरक्षा पहरीले गरेका थिए । युवाहरूको नेतृत्व विकास गर्नका लागि ४ दिने अभ्यासको क्रममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको अन्तरसम्बन्धको बारेमा पनि सिकाइएको सहजकर्ता सुरक्षा पहरीले बताइन् । साथै योजना छनौटको अभ्यास, आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत र पारित गर्न तरिकाको बारेमा पनि जानकारी गराइएको सहजकर्ता पहरीले बताइन् । 

सम्पूर्ण सहभागीहरूले नमुना गाउँसभा सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । बुधबार भएको कार्यक्रमको समापन महाङ्काल गाउँपालिका अध्यक्ष गणेश बहादुर केसीले कार्यक्रम प्रभावकारी भएको बताउँदै सिकेको ज्ञान र अभ्यासबाट जानेका कुरालाई प्रयोग गरी पालिकाले गर्दै आएको कार्यहरूमा सुझाव दिन आग्रह गरे ।