close

जनयुद्धको पहिलो शहीदको सालिक : अन्यको खातामा १० हजार

जनयुद्धको पहिलो शहीदको सालिक : अन्यको खातामा १० हजार

Trulli
ADVERTISEMENT

गोरखा– २०५२ साल फागुन १४ गतेको दु:ख घटनामा परी एक नाबालकले ज्यान गुमाउन पुग्छन् । माओवादीले युद्ध घोषणा गरेको दोस्रो हप्तामात्र भएको थियो । यता देश युद्धको दलदलमा फसेको थियो भने उता जनताले युद्ध के हो ? कस्तो हुन्छ ? र केका लागि ? भन्ने थाहा नपाउँदै ११ वर्षीय दिलबहादुर रम्तेलकाे निधन भयो । उनलाई जनयुद्धको प्रथम शहीदको रुपमा चिनिन्छ । 

बारपाक सुलिकोट गाउँपालिका-८ अर्थात् साविक तन्द्रुङ गाउँपालिका वडा नं ३ दराङमा माओवादीको जनयुद्धलाई दमन गर्ने उद्देश्यले सूर्यज्योति माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक वीरबहादुर गुरुङलाई गिरफ्तार गरेर सुरक्षाकर्मीले लिएर जाँदै थिए । 

मूल बाटोबाट सुरक्षाकर्मी नगई खेतबारी वा घारीको बाटोबाट लिएर गएका थिए । सुरक्षाकर्मीको टोली ब्रम्हाचारिणी निमावि नजिकैको बाटो हुँदै उनलाई लगिँदै थियो । सो क्षेत्र तत्कालीन प्रधानाध्यापक वीरबहादुर गुरुङको घर भएको क्षेत्र पनि हो । आफ्नो गाउँको सरलाई गिरफ्तार गरेर सुरक्षाकर्मीले लग्दै गरेको देखेपछि गाउलेहरू आक्रोशित बने । गिरफ्तार गरेर लगिरहेको भीडमा काेही आक्रोशित थिए भने कोही घटनाबारे जिज्ञासासहित हेरिरहेका थिए ।

आक्रोशितकाे भीड बढेपछि प्रहरीले अन्धाधुन्ध गोली चलायो । साेही क्रममा भीड हेर्न पुगेका बालक दिलबहादुर रम्तेल र रामचन्द्र भट्टलाई गोली लाग्यो । गोली लागेपछि भीड तितरवितर भयो भने प्रहरीलाई अघि बढ्ने बाटो खुल्यो । त्यसपछि प्रहरीले जङ्गलको बाटोबाट घ्याम्पेशाल हुँदै प्रध्यानाध्यापक गुरुङलाई गोरखा बजार पुर्‍याए । 

गाउँलेहरुले प्रहरीको गोली लागेर गम्भीर घाइते बनेका दुई बालकलाई स्थानीयले अस्पताल लगेका थिए ।घ्याम्पेशाल हुँदै झिँगटे पुर्‍याउने क्रममा दिलबहादुर रम्तेलको मृत्यु भयो । सेते रम्तेल र सरीमाया रम्तेलले फागुन १४ काे दिन छाेरा गुमाए। 

गोली लागेर घाइते बनेका अर्का बालक रामचन्द्रलाई भने उपचार गर्न अस्पताल पुर्याउन भ्याएको र हाल जीवित रहेको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले सुनाए । 

दिलबहादुर रम्तेलको स्मृतिमा गाउँपालिकाले 'दिलबहादुर रम्तेल पार्क' तथा जनयुद्ध सङ्ग्राहलय निर्माणाधीन रहेको उनले बताए । रम्तेलको स्मृति दिवसको अवसरमा पारेर गाउँपालिकाले सो पार्कको परिसरमा निर्मित शालिकको सोमबार अनावरण गरेको हाे । 

सोही अवसर पारेर शहीद परिवारलाई सम्मानसमेत गरेको गाउँपालिकाका अध्यक्ष भट्टले बताए । गाउँपालिकामा रम्तेलका परिवारसहित २८ परिवार छन् । सोमध्ये सोमबार गाउँपालिकाको शहीद सम्मान कार्यक्रममा १३ जनाको परिवार उपस्थित भएका छन् । 

उनले पालिकाखबरसँग भने, ‘शहीद परिवारलाई सम्मानसहित केही नगद उपलब्ध गराएका छौँ । कार्यक्रममा उपस्थित नहुनु भएको परिवारको खातामा पनि नगद उहाँहरुको खातामा पठाउँछौँ ।’ गाउँपालिकाले शहीद परिवारलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरेको उनले जानकारी दिए ।