close

पदमार्गमा वडाको लगानी, पर्यटन उकास्न सहयोग

पदमार्गमा वडाको लगानी, पर्यटन उकास्न सहयोग

Trulli
ADVERTISEMENT

बागलुङ- कतिपय स्थानमा होमस्टे प्रवर्द्धनको बजेटबाट घर बनाउने, घरभित्रका सामान किन्नमा खर्च भएको सुन्नमा पाइन्छ । तर, काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशमा सामूहिक हित र पर्यटन प्रवर्द्धनका लािग बजेट लगानी गरिएको छ । 

 

रेशस्थित डोटे देउराली होमस्टे प्रवर्द्धनका लागि पर्यटकीय स्थान संरक्षण र पदमार्ग निर्माण गरिएको छ । रेशस्थित माहुरी झरना जाने झन्डै १ किमि लामो पदमार्ग निर्माण गरिएको हो । 


उक्त पदमार्ग बनेपछि स्थानीयले झरनामा पुगेर घुम्ने क्रम सुरु भएको छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयले दिएको १० लाख र अन्य स्रोतसमेत परिचालन गरेर १५ लाख रुपैयाँमा उक्त पदमार्ग निर्माण भएको वडाध्यक्ष प्रेम लामिछानेले बताए । 

 

यो पदमार्गबाट झरनामा पुगेपछि सानो टहरा र फलामे पुलसमेत बनाइएको छ । घुम्न गएकाले यो पुल तरेर वारिपारिको दृश्यावलोकन गर्न सक्छन् । 


‘शितल र आनन्द लाग्ने स्थान रहेछ । यो वनभोज जानेका लागि पनि उपयुक्त स्थान हो,’ वडा सदस्य कृष्णबहादुर थापाले भने, ‘वडाध्यक्षले यस्ता महत्त्वपूर्ण स्थान हेरेर सही लगानी गर्नुभएको रहेछ ।’ 

 

आगामी हिउँदमा वनभोज स्थलसमेत राख्ने योजना लामिछानेले सुनाए । डोटे देउरालीमा ८ घर होमस्टे छन् । जिल्ला र बाहिरबाट आएका २० जनासम्मको समूहलाई अर्गानिक खाना खुवाएर राख्न सक्ने गरी यो होमस्टे निर्माण भएको हो । 


‘घर सरसफाइ, अर्गानिक खाना र शुद्ध पानीको व्यवस्था घरघरमै भएको छ,’ लामिछानेले भने, ‘एकदिने घुमाइका लागि आउनेलाई पनि यो राम्रो गन्तव्य बन्छ भनेर लगानी गरियो ।’  होमस्टेबाट धौलागिरि र माछापुच्छ्रे हिमाली शृंखला पनि देख्न सकिन्छ । 

 

पर्यटन प्रवर्द्धनकै लागि होमस्टे नजिकै मदन भण्डारी पार्कसमेत निर्माण भएको छ । घुम्न आएका पाहुना यहाँ बसेर हिमाली दृश्य र रेशका अधिकांश बस्ती हेर्न सक्छन् । 


यहाँबाट बिहुँ, भीमापोखरा, पञ्चकोट सहितका क्षेत्र देखिन्छ । वडाको बजेटबाट गत वर्ष बनाइएको यो पार्क सम्पन्न गर्न ५ लाख रुपैयाँ मात्रै खर्च भएको लामिछानेले जानकारी दिए । 


‘बिहान-बेलुकी काम गरेर थाकेका स्थानीय थकाइ मार्न पार्क पुग्ने गर्छन्,’ स्थानीय रनमाया थापाले भनिन्, ‘यो पार्कले गाउँको मुहारै फेरिदिएको छ ।’ यहाँ कम्पाउन्ड तारबार लगाएर घेरिएको छ ।

 

बीचमा पोखरी र पानीको फोहोरा राखिएकाले धेरैको आकर्षक बनेको हो । राष्ट्रिय झन्डा राखिएकाले फोटो खिच्नेका लागि पनि उपयोगी भएको छ । वडाभित्रका पर्यटकीय गन्तव्य, मठमन्दिर र गाउँ जोड्ने पदमार्ग र सडक स्तरीय बनाउनसमेत वडाले लगानी गरेको छ ।


सबै टोलमा पुग्ने स्तरीय सडक बनाइएकाले वर्षामा पनि नियमित सवारी सञ्चालन भएको लामिछानेले बताए । रेशकै जिरेदीमा भने पहिरोले केही घर जोखिममा परेका छन् । तत्काल पहिरो पन्छाएर सडक चलाएपछि घर संरक्षणका लागि पहल भएको उनले जानकारी दिए ।