close

मनमोहक साधुटार

Trulli
ADVERTISEMENT

पाँचथर– सुन्दर पहाडको काखमा रहेको मनै लोभ्याउने सानो पोखरी । वरपर खेलुँ–खेलुँ–खेलुँ लाग्ने चौर । धुपी सल्लाका बोट, स–साना पोथ्रा र बुट्यानको बेजोड संगम । यहाँबाट कञ्चनजंघा र कुम्भकर्ण हिमालको लोभलाग्दो दृश्य आँखै अगाडि ठोक्किन आइपुग्छ । यिनै विशेषताले चर्चामा छ, साधुटार ।


 
केही समयलाई भए पनि व्यस्त दैनिकी, दुःख, पीर बिर्सेर प्रकृतिसँग रमाउन दैनिक सय बढी यायावर फिदिम नगरपालिका वडा नम्बर ८ साधुटार आइटोपल्छन् ।
दोस्रो चरणको कोरोना कम भएसँगै पुनः साधुटार पुग्ने आन्तरिक पर्यटक बढेका छन् । साधुटार पुग्ने जोकोहीले भन्छन्, ‘आहा ! साधुटारको सुन्दरता ।’ ८ हजार २ सय फिट उचाइको मेची राजमार्गको पाँचथरस्थित पौवाभञ्ज्याङ बजारदेखि दुई किलोमिटर माथि छ, साधुटार । 


पाँचथरसँगै तेह्रथुम, ताप्लेजुङ, इलाम, झापा, मोरङलगायत जिल्लाका पर्यटक साधुटार पुग्ने गरेको स्थानीय न्यूमन मुखियाले सुनाए । सुन्दर प्राकृतिक छटाले सुसज्जित साधुटारमा रमाउन प्रेमिल जोडी, स्कुल–कलेजका विद्यार्थी र सपरिवार आउने गरेको मुखियाले बताए । 


करिब सय रोपनी क्षेत्रफलको साधुटार पिकनिक स्पटको रूपमा जिल्लाकै चर्चित स्थल हो । गएको सिजनमा मात्र नगन्य मात्रामा वनभोज खाने समूह साधुटार आएको स्थानीय शर्मिला मुखियाले बताइन् ।  पर्यटक रोजाइमा पर्न थालेसँगै साधुटारसम्मै सडक पुर्‍याइएको छ । 


स्थानीय चेतबहादुर मुखियाको नाममा रहेको साधुटारलाई मेची पहाडको नमुना पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य रहेको फिदिम नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष शेरबहादुर नेम्बाङको भनाइ छ । सानो क्षेत्र भए पनि प्रवद्र्धन गर्न सके यो ठाउँ नमुना बन्न सक्ने वडाध्यक्ष नेम्बाङको ठम्याइ छ ।
 
साधुटार नजिकै पौवाभञ्ज्याङ बजार, सुकेपोखरी, राँके, देउराली, धार्मिक पर्यटकीय महत्त्वको सिलौटी, लब्रेकुटीजस्ता पर्यटकीय स्थल छन् । साधुटार आउँदा यी ठाउँको पनि एकै दिनमा प्याकेज भ्रमण गर्न सकिन्छ । यसका लागि स्थानीय तहले गुरुयोजना बनाएर अघि बढ्नुपर्ने सरोकारवाला सुझाउँछन् ।


प्याकेज भ्रमणका लागि आवश्यक पूर्वाधार निर्माण गरिए यहाँको वानस्पतिक, जैविक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक वस्तुको अध्ययन, अवलोकन गर्न सहज हुने पाँचथर बहुमुखी क्याम्पसका सहायक प्राध्यापक मधु केरुङले बताए । साधुटार भ्रमणको क्रममा स्थानीय स्तरमा उत्पादित छुर्पी, ललिपप, आलु, गुन्द्रुक, सिन्कि र टिमुरको अचारजस्ता स्थानीय उप्पादनको स्वादसमेत लिन सकिन्छ ।