close

रमाइलो रुकुम (पूर्व)

Trulli
ADVERTISEMENT

खुल्दै गरेको आकाश अनि रसिलो प्रकृति  । जब भदौ सकिन्छ, बर्खा पनि सकिन्छ  । सूर्यको न्यानो किरण धरतीमा एकनासले पर्दा जगत् चम्किलो देखिन्छ । शरद याम गजबको मौसम हो । यही समय रुकुम (पूर्व) घुम्नका लागि उपयुक्त हुन्छ ।


साविक रुकुमलाई संघीयतापछि दुई वटा जिल्ला बनाइयो । रुकुम पूर्व र पश्चिम । प्राशासनिक विभाजन भए पनि यहाँका जनमनको भावनात्मक सम्बन्ध अहिले पनि उस्तै छ । हिमालसँगै उच्च पहाड र होचा थुम्काहरूका साथै समथर फाँट पनि रहेको रुकुमको भू–बनोटमा विविधता छ । समुद्र सतहबाट ७ सय ५४ मिटरको चौरजहारीको फाँटदेखि तीन हजार मिटरको पुथा, सिस्ने हिमालय क्षेत्र, सांस्कृतिक र भौगोलिक विविधताका साथै रुकुमेली मौलिक जीवनशैलीसँग अन्तरंग हुँदै घुमघामको मजा नै छुट्टै हुन्छ ।


सिस्ने, पुथा र चुरेन हिमालको फेदीबाट बगेर आउने सानीभेरी नदीको समीपमा रहेको सुन्दर थुम्कोमा अवस्थित रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुम कोट पनि सुन्दर पर्यटकीय स्थल हो । यहाँ रहेको दुर्लभ कमल पाइने कमल तालले जो कोहीको पनि मन लोभ्याउँछ । त्यस्तै, पूर्वतिर घुमघाम गर्ने हो भने रुकुम भ्रमण थप सार्थक र रमाइलो हुन सक्छ । मगर जातिको बाहुल्य रहेको पूर्वका पुथाउत्तरगंगा र भुमे गाउँपालिकाका विभिन्न ग्रामीण बस्तीहरू घुम्दै ढोरपाटन शिकार आरक्ष क्षेत्रसम्म पुगेर उतैबाट बागलुङ हुँदै म्याग्दी र पर्वतबाट कास्की पोखरासम्मको योजना बनाए पूर्वी रुकुमको भ्रमण अत्यन्त सार्थक हुन सक्छ ।


सिस्ने, पुथा र चुरेन हिमाल अनि धौलागिरी हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्दै पूर्वी रुकुमका पुथाउत्तरगंगा गाउँपालिकाअन्तर्गत मैकोट, हुकाम, राङसी, तकसेरा र कोलका सुन्दर मगर बस्ती घुम्न यो बेला खूबै रमाइलो हुने पुथाउत्तरगंगा गाउँपालिकाका राजेश बुढामगर बताउँछन् । ‘बर्खे झरी निख्रिएपछिको शरद याममा पूर्वी रुकुमका उच्च लेकाली पाटन घुम्न सके स्वर्गीय आनन्द प्राप्त हुन्छ,’ उनी भन्छन्, ‘अग्ला लेकहरूमा सयौँ प्रजातिका बुकी फूलहरूले लेकाली क्षेत्र यो बेला एउटा बगैँचाजस्तै देखिन्छ ।’  यार्सा ट्रेल, गुरिल्ला ट्रेलसँगै बुकी पाटनका मनोरम सुन्दर र शान्त वातावरणमा रमाउन सकिन्छ ।