close

पर्यटनमा महालक्ष्मीको लोभलाग्दो विकास

पर्यटनमा महालक्ष्मीको लोभलाग्दो विकास

Trulli
ADVERTISEMENT

धनकुटा– नेपालमा प्राकृतिक रमणीय स्थल, धार्मिक, ऐतिहासिक धरोहर, प्राचीन संस्कृतिको प्रवद्र्धन र प्रचार गरेर पर्यटक आकर्षित गर्न सकिने प्रशस्त सम्भावना छन् । धनकुटाको महालक्ष्मी नगरपालिकाले स्थानीय स्तरमा पर्यटन लक्षित रोजगारीका अवसर सिर्जना गर्ने योजनासहित अघि बढ्दा पर्यटन क्षेत्रमा लोभलाग्दो परिवर्तन ल्याउन सफल भएको छ । 

 

महालक्ष्मी नगरपालिका धनकुटाको उत्तरी भेगमा रहेको सुन्दर नगर हो । जति सुन्दर त्यति नै पर्यटक आकर्षित गर्न सक्ने क्षमता नगरपालिकामा देखिन्छ । यो नगरको परिचय भनेकै जातीय, धार्मिक, सांस्कृतिक विविधता हो । ओझेल परेका विभिन्न पर्यटकीय गन्तव्यलाई प्रदेश र नगरको सहार्यमा स्तरोन्नति एवं निर्माण गर्दै अघि बढ्दा हाल नगरपालिकाले ठूलो संख्याका आन्तरिक पर्यटक भित्र्याइरहेको छ । 

 

नगरपालिकाले भौतिक पूर्वाधार तथा विकास निर्माणलाई पर्यटनसँग जोडेर काम गरेको छ । ती योजनालाई नगर गौरवभित्र समेटेर पूर्णता दिइएको छ, जसले आन्तरिक पर्यटनमा चहलपहल बढाएको छ । नगरपालिकाको वडा नम्बर ६ मा पर्ने वनझाँक्री पार्क यही उद्देश्यका साथ निर्माण गरिएको महालक्ष्मीका नगरप्रमुख परशुराम नेपालले बताए ।

 

वनझाँक्री पार्क जितपुर बजारदेखि लेगुवा बजार जाने बाटोमा पर्छ । राजमार्गमा पर्ने हुनाले सडक स्तरोन्नति भएपछि यो ठाउँमा घुम्न आउनेको चहलपहल बढ्ने सम्भावना छ । अहिले पार्क बनाएपछि घुम्न आउनेको चहलपहल बढे पनि त्यो विशेष समयमा मात्र हुने गरेको वडा नम्बर ६ का वडाध्यक्ष डम्बरबहादुर कार्कीले बताए ।

 

पर्यटन विकासका लागि अन्य काम पनि भएका छन् । शिवालय मन्दिरको स्तरोन्नति, जितपुर बजारमा रुद्राक्षको स्तम्भ निर्माण, ढुंगे बगैँचाको काम पर्यटन प्रवद्र्धनकै लागि सुुरु गरिएको छ ।  यहाँको जातजाति, कला संस्कृतिलाई जगेर्ना गरेर पर्यटनमा टेवा पु¥याउने नगरको लक्ष्य सफल हुने क्रममा रहेको नगरप्रमुख नेपालको भनाइ छ ।

 

नगरमा रहेको नागेश्वर महादेवको मन्दिर, धर्मदेवी र शिवालय मन्दिरको स्तरोन्नति गरिएको छ । कालिका मन्दिर र मूर्ति महेश्वरमा पूजा गर्न आउने भक्तजनका लागि सहज होस् भनेर भौतिक पूर्वाधार निर्माण गरिएको छ । नगरपालिकाको हिमाली भागमा रहेको कालेपोखरी पार्कलाई व्यवस्थित गरिएको छ । पर्यटनलाई मनोरञ्जन दिन पोखरीमा डुंगा तथा सुविधाका लागि छेवैमा होटल निर्माण गरिएको छ । 

 

महालक्ष्मीलाई पयर्टनको हब बनाउने उद्देश्य नगरपालिकाले राखेको छ । तर, त्यसका लागि आवश्यक आधारशिला भने तयार भएको छ । अबको केही समय नगरले पर्यटक आकर्षित गर्न खर्चिएको लगानीको प्रतिफल उठ्नेछ । यहाँको स्थानीय संस्कार, संस्कृतिले नै नगरको योजनालाई साकार पार्ने देखिन्छ ।