close

सहस्र झरनामा आन्तरिक पर्यटकको चहलपहल

सहस्र झरनामा आन्तरिक पर्यटकको चहलपहल

Trulli
ADVERTISEMENT

बागलुङ । सहस्रधारा झरनाबारे  केहि वर्ष अघिसम्म केही मात्रै जानकार थिए । गुमनाम जस्तै रहेको यो झरना पर्यटकीय स्थल बन्ला भनेर कसैले न सोंचेका थिए न पत्याएका थिए । वर्षौं देखि जङ्गलबीच गोलकोत कोतको मुनी देखि छङ्छङ गर्दै झरना बगिनै रहेको थियो ।

गलकोट नगरपालिका–३ हटिया स्थित उक्त सहस्र झरना स्थानिय तह निर्माण सँगै पर्यटक हब बन्दै गईरहेको छ । कुनै समय गुमनाम रहेको झरना हिजो आज भनें आन्तरिक पर्यटकको रोजाईमा परेको छ भनें चर्चा समेत बटुल्न थालेको छ । आफ्नो पुरानो चिनारी बदल्ने क्रममा रहेको सो झरना परिसरमा आवश्यक पुर्वाधार निर्माण गरिएसँगै पर्यटकीय गन्तव्य बन्न थालेको छ । 

झरना अहिले पर्यटकीय गन्तव्यको रुपमा विकास भईरहेको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्रीले जानकारी दिए ।

 झरनाको विकासका लागि वडा नम्बर ३ का जनप्रतिनिधि र स्थानीय बासिन्दा समेत जुटेका छन् । झरनालाई थप पर्यटकीय गन्तव्य बनाउनका लागि आवश्यक पहल समेत गर्दै आएको वडा नम्बर ३ का अध्यक्ष खत्रीले बताए । झरनामा पहिलो पटक तत्कालिन गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष विरजंग भण्डारीको नेतृत्वमा वि.सं २०७४ फागुनमा साहसिक खेल छाँगावरोहण (क्यानोनिङ)को सफल परीक्षणपछि झरनाले थप चर्चा पाएको उनले बताए । 

त्यसपछि असारमा पहिलो पटक व्यावसायिक रुपमा उक्त खेल खेलाईएको थियो । छाँगावरोहण खेलपछि झरनाबारे धेरैले जानकारी पाए । बाहिर पनि प्रचार प्रसार भएको उनले बताए ।   झरनालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले (क्यानोनिङ)सुरु गरिएको निवर्तमान  वडा अध्यक्ष बिरजङ्ग भण्डारीले बताए ।'पहिले एक्लै जान डर लाग्ने ठाउँ थियो', उनले भने, 'विस्तारै सहस्रधारा पर्यटकीय गन्तव्य स्थल बन्दैछ ।'

छाँगावरण लागि मात्रै नभएर प्राकृतिक सौन्दर्यमा रमाउनेका लागि पनि सहस्रधारा उत्कृष्ट गन्तव्य रहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताए । जङ्गलले घेरिएको अक्करे भिरमुनि रहेको उक्त झरनालाई आवश्यक पुर्वाधार निर्माण गरि गलकोटकै महत्वपुर्ण पर्यटन सर्किटको रुपमा विकास गर्न नगरपालिकाले आवश्यक गृहकार्य सँगै कार्य सम्पादन गरिरहेको नगर प्रमुख गैरेले उल्लेख गरे ।

बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किलोमिटर यात्रापछि गलकोट आइपुग्न सकिन्छ भनें हटिया बजारबाट आधा घण्टाको पैदल यात्रा र सवारी साधन मार्फत १० मिनेटमा झरनामा पुग्न सकिन्छ । ८६ मिटर अग्लो मनमोहक झरनामा पुग्ने पर्यटकको मनै लोभ्याउने गरेकाे आन्तरिक पर्यटक कृष्ण खत्रीले बताए । 

गलकोट नगरपालिका, वडा सरकारसँगै स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवद्र्धन केन्द्र’ गठन गरेर खेलसँगै झरनाको अहिले प्रवद्र्धन गरिरहेका छन् । युवाको सोंच र योजनामा गलकोट नगरपालिकाले अगुवाइ प्रदान गरेको छ । वडा मार्फत सहस्रधारा क्षेत्रको पर्यटकीय विकासमा सरकारी सहयोग समेत भित्रिएको गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य रबिन बोहोरा क्षेत्रीले जानकारी दिए ।

वडा सदस्य बोहोराले झरनामा ‘क्यनोनिङ’ लाई दिगो र व्यावसायिक बनाउन केहि आवश्यक पूर्वाधार निर्माण भईसकेको र थप योजना तय गरिएको उल्लेख गरे ।

झरना परिसरमा पालिकाबाट विनियोजित रकम रु पाँच लाख बजेटबाट पदमार्ग, विश्रामस्थल, बगैँचा लगायतका संरचना बनेका छन् । ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्ने सहस्रधारा क्षेत्रमा ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क’ निर्माणको योजना पनि सञ्चालित रहेकाे उनले बताए।

उक्त योजनाका लागि गण्डकी प्रदेश सरकारले १२ लाख बजेट विनियोजन गरेको थियो । सहस्र झरनामा एक हजारभन्दा बढी फोहोरा खस्छन् । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुई पटक झरनामा पूजा गर्ने गर्छन् ।