close

बगरफाँटकाे पर्यटन : पालिकाले बजेट नदिए मागेर भएपनि विकास गर्ने युवाकाे अठाेट

बगरफाँटकाे पर्यटन : पालिकाले बजेट नदिए मागेर भएपनि विकास गर्ने युवाकाे अठाेट

Trulli
ADVERTISEMENT

म्याग्दी - बेनी नगरपालिका–२ बगरफाँटस्थित ‘बगरफाँट रिभर साइड युवा क्लब’का युवाहरु यहाँको पर्यटकीय स्थल कोप्रे झरना र घुमाउने चौतारीको सरसफाइमा आज बिहानैदेखि जुटेका छन् । हातमा कैंची, बेल्चा, कोदालो र गल लिएका युवाहरु पर्यटकीय क्षेत्रको सरसफाइ गर्न र परिचय बोर्ड राख्न भेला भएका थिए ।

खेलकुदमार्फत गाउँ तथा जिल्लामा पहिचान बनाउन सफल यहाँका युवाहरु पछिल्लो समय गाउँमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउने अभियानमा लागेका हुन् । पहिलो चरणमा कोप्रे झरना, उडाइनो छहरा र घुमाउने चौतारीको सरसफाइ गरी परिचय बोर्ड राख्ने काम आज बिहान सम्पन्न गरिएको क्लबका सचिव सचिन कार्कीले जानकारी दिए । उनका अनुसार प्रशस्तै प्राकृतिक र पर्यटकीय सम्भावनाहरु रहेको बगरफाँट गाउँलाई पर्यटनमार्फत संसारभरि चिनाउने अभियानमा क्लबका युवा लागेका छन् ।

यहाँ पानी उड्ने उडाइनो छहरा, आन्तरिक पर्यटकहरुले खचाखच हुने कोप्रे झरना, एक सय २६ वर्ष पुरानो ऐतिहासिक घुमाउने चौतारी, तीन रोपनी क्षेत्रफलको विशाल चट्टानमाथि निर्माण गरिएको आकर्षक दुर्गा भगवतीको मन्दिर, शिवाल, गुफा लगायतका पर्यटकीय स्थल रहेका सचिव सचिन कार्कीले जानकारी दिए । 

प्रचारप्रसार, मर्मतसम्हार र संरक्षणको अभावमा ‘बत्ती मुनिको अँध्यारो’जस्तै बनेका यहाँका पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनमा टेवा पुग्ने क्लबका अध्यक्ष सुनिल थापाले बताए । 'पुछारमा नागबेली पर्दै  म्याग्दी खोला कलकल गरी बगिरहेको छ, सिरानमा विशाल चट्टाने पहरो र पहरोमा दुई खण्ड हुँदै बगेको उडाइनो छहरा, आप्रे छहरा र कोप्रे झरना छन्', उनले भने, 'बीचको समथर भागमा मिलेको बस्तीसहितको बगरफाँटमा देखिने गाउँ र उर्वर फाँटको हरियालीले यहाँ आउने पर्यटकहरु मख्खै पर्ने गर्दछन् ।'

बगरफाँट गाउँ पर्यापर्यटनको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको अध्यक्ष थापाको भनाइ छ । यहाँ गरिएको केरा र तरकारी खेतीले गाउँको सौन्दर्य अझै बढाएको उनले बताए । 

बाहिरबाट यहाँ आएका मानिसको मुखबाट ‘आहा बगरफाँट१’ भन्ने शब्द निस्कने गरेको स्थानीय मीनबहादुर कार्कीले बताए । बगरफाँट गाउँ घुम्न र यहाँका पर्यटकीय स्थलहरुमा रमाउन टाढाटाढाका मानिसहरु आउन थालेकाे उनले जानकारी दिए ।

स्थानीय समावसेवी नारायण कार्कीको अगुवाइमा बगरफाँटको पलाँसे क्षेत्रमाथि रहेको चट्टानको थुम्कोमा दुर्गा भगवतीको मन्दिर निर्माण गरिएको क्लबका पूर्वअध्यक्ष एवं सल्लाहाकार इन्द्रबहादुर जिसीले जानकारी दिए । यहाँ मन्दिरसम्म पुग्नका लागि बनाइएका आकर्षक सिँढी, पक्की बाटो र मन्दिरको तल्लो भागमा अलगअलग थान बनाई राखिएका विभिन्न देवीदेवताका मूर्तिले गाउँको सौन्दर्यलाई बढाउनका साथै धार्मिक पर्यटकीय स्थलका रुपमा परिचित हुँदै गएको उनको भनाइ छ । 

सचिव कार्कीका अनुसार यहाँको पर्यटन विकासका लागि युवाले दोस्रो चरणअन्तर्गत आकर्षक बगैँचा र पिकनिक स्पोट (वनभोज स्थल) निर्माणका लागि तयारी सुरु गरेका छन् । 'यसका लागि आवश्यक बजेट नगरपालिकाबाट प्राप्त भएमा निर्माण कार्य निकै सहज हुने थियो', उनले भने, 'बजेट पाएनौँ भने पनि काम रोक्दैनौँ, देश विदेशमा रहनुभएका यहाँका युवा साथीहरुसँग सहयोग मागेर भए पनि काम अगाडि बढाउनेछौँ ।'

म्याग्दीको सदरमुकाम बेनीबजारदेखि १५ मिनेट दूरीमा रहेको बगरफाँट गाउँका युवाले खेलकुदका साथै पर्यटन प्रर्वद्धनका क्षेत्रमा काम गरिरहेकाले उनीहरुको कामलाई पालिकाले सदैव सहयोग गर्ने बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए। युवाहरुले गाउँलाई चिनाउँदै समाजलाई सङ्गठित बनाउने उद्देश्यले काम गरिरहेकाले यस कार्यबाट पर्यटन विकासमासमेत टेवा पुगेको उनको भनाइ छ।

वडाध्यक्ष कार्कीका अनुसार युवाहरूको पहलमा यहाँ ५५ मिटर चौडाइ, एक सय मिटर लम्बाइको खेलमैदान निर्माण भएको छ । 'करिब रू २५ लाखको लागतमा निर्माण भएको उक्त खेलमैदानमा गत चैत २८ गतेदेखि चार दिनसम्म प्रथम रिभरसाइड सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको थियो', उनले भने।

वडाध्यक्ष कार्कीले बगरफाँट खेलाडीहरूको गाउँ भएको बताउँदै यहाँका युवाले जिल्ला र प्रदेशस्तरका विभिन्न खेलकुद प्रतियोगितामा सम्मानित हुँदै आएका बताए । उनका अनुसार गत माघमा पोखरामा भएको फुटसल प्रतियोगितामा क्लबका युवाले प्रथम र द्वितीय स्थान प्राप्त गरेका थिए ।

यहाँका युवा सङ्गठित भई खेलकुद, पर्यटन विकासका साथै अन्य सामाजिक र जनचेतनामूलक काममा लागेका छन् । कोरोनाको समयमा क्लबका युवाले घरघरमा पुगेर औषधि, मास्क, स्यानिटाइजरलगायत सामग्री वितरण गर्ने, बिरामीलाई अस्पतालसम्म पु¥याउनेलगायत काम गर्दै आएका स्थानीयले बताएका छन् ।