close

भरतपुर भ्रमण वर्षमा दियालो बङ्गला खुल्ला गर्न आग्रह

भरतपुर भ्रमण वर्षमा दियालो बङ्गला खुल्ला गर्न आग्रह

Trulli
ADVERTISEMENT

चितवन– ऐतिहासिक महत्वको यहाँको दियालो बङ्गला क्षेत्र भरतपुर भ्रमण वर्षमा खुल्ला गर्न आग्रह गरिएको छ । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउने र सोही अवसरमा विसं २०२६ मा राजाका लागि निर्माण गरिएको बङ्गाला सर्वसाधरणका लागि खुला गर्न आग्रह गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले नेपाल ट्रष्टको कार्यालयलाई पत्र लेखी भरतपुर भ्रमण वर्षको अवसरमा यहाँ आउने पर्यटकका लागि खुल्ला गरिदिन आग्रह गरेको हो । महानगर प्रमुख रेनु दाहालले ट्रष्टको कार्यालयलाई पत्राचार गरिएको बताउँदै मौखिकरुपमा भएका कुराकानी सकारात्मक रहेको बताइन् । ट्रष्टसँग यस विषयमा कुराकानी भइरहेको उनले बताइन् । नेपाल ट्रष्टको कार्यालय प्रधानमन्त्री कार्यालयअन्तर्गत पर्दछ ।

प्रमुख दाहालले ट्रष्ट स्वयम् वा सञ्चालनको जिम्मा महानगरपालिकालाई दिएर जुन विधिबाट सञ्चालन गर्दा पनि हुने बताइन् । उनले भनिन्, ‘भ्रमण वर्षमा दियालो बङ्गलाभित्रको दरबार क्षेत्र पर्यटकका लागि खुल्ला हुनेमा म विश्वस्त छु ।’

स्वदेशी र विदेशी पर्यटक भित्र्याउने गरी महानगरले विभिन्न गतिविधि अघि बढाएको छ । नेपाल ट्रष्टको कार्यालयका सहसचिव एबं प्रवक्ता दीपकराज नेपालले महानगरको पत्र प्राप्त भएसँगै छलफल अघि बढेको बताए । दरबार निकै पुरानो भएकाले एकैसाथ धेरै मानिस प्रबेश गर्दा जोखिमको अवस्था अध्ययन गरेर खुल्ला गर्न ट्रष्टको कार्यालय सकारात्मक रहेको उनको भनाइ छ । कार्यालयले चालु आर्थिक वर्षमा दरबारलाई ‘रेट्रोफिटिङ्’का लागि बजेटसमेत बिनियोजन गरिसकेको छ ।

नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीको गुल्मले दरबार क्षेत्रलाई सुरक्षा दिएको छ ।  दियालो बङ्गला क्षेत्र देवघाट प्रवेशद्वारमा छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको दरबार यतिबेला प्रयोगविहीन भएकाले ओझेलमा छ । 

विसं २०२६ मा निर्माण भएको सो बङ्गला राजा र राजपरिवारका सदस्यले काठमाडौँको कोलाहाल छल्न आउने मुख्य गन्तव्यमध्येमा थियो । विसं २०४६ देखि कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका देवीबहादुर कार्की राजपरिवारको रमाउने ठाउँ दियालो बङ्गला भएको बताए। 

तत्कालीन समयमा राजा आइरहने भएकाले दियालो बङ्गला झकिझकाउ हुने गर्थ्यो । राजा आएको बेला एक महिना बराबरको तलब बक्सिस हुने भएकाले पनि कर्मचारी फुरुङ्ग हुने गर्दथे । राजा महेन्द्रको निधन पनि यही दरबारमा भएको र पवित्र तीर्थस्थल देवघाटको मुख्य प्रवेशद्वार भएकाले दरबारको महत्व धेरै छ ।

पूर्वराजपरिवारको सम्पत्तिको संरक्षण हाल नेपाल ट्रष्टले गरिरहेको छ । कार्कीका अनुसार हाल पाँचजना कार्यालय सहयोगीले बंगलाको रेखदेख गरिरहेका छन् । दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा राजाहरु महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । कार्कीका अनुसार १ नम्बरको खोपी मुमा रत्नराज्यको हो भने २ नम्बरको राजा र ३ नम्बरको रानी तथा ४ र ५ नम्बरको खोपी राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा भित्रै शौचालय पनि छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको त्यस्तै राखिएको छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वार्टर पनि छ । साथै सो क्षेत्रमा ग्यारेज र त्यसको छेउमा स्वीमिङ पुल पनि छ ।

ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर छ । कूल ५७ बिघा १३ कट्ठा सात धुरमा क्षेत्रफलमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबारक्षेत्रको सौन्दर्य बढाएको छ । दरबार परिसरमा रहेको बगैंँचा अहिले पनि जस्ताको जस्तै छ । 

इकाइमा कार्यरत अर्का कार्यालय सहयोगी दानबहादुर ढकालले जाडो महिनामा राजपरिवारले यही दरबारमा धेरै समय बिताउने गरेको स्मरण गरे । दरबार क्षेत्रलाई विगतको जस्तै रहने गरी सरसफाइ र सुरक्षामा ध्यान दिइएको छ।