close

साँस्कृतिक केन्द्र बनाउन एक करोड रुपैयाँ बराबरको जग्गादान

साँस्कृतिक केन्द्र बनाउन एक करोड रुपैयाँ बराबरको जग्गादान

Trulli
ADVERTISEMENT

तनहुँ– जग्गाको समस्या भोगिरहेको बेलामा बन्दिपुर गाउँपालिकाले एक करोड रुपैँया बराबरको मुल्याङ्कनको जग्गा निःशुल्क पाएको छ । पर्यटन व्यवसायी तथा समाजसेवी सन्तकुमार श्रेष्ठले गाउँपालिकालाई एक करोड रुपैँया बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । 

व्यवसायी श्रेष्ठले बिहिबार गाउँपालिकालाई एक रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए । उनका अनुसार बन्दिपुर साँस्कृतिक केन्द्र भवनका निर्माणका लागि जग्गा प्राप्ति भएको हो । 

केन्द्रीय सरकारको विशेष अनुदानमार्फत बहुवर्षीय योजनाका रुपमा सो भवन निर्माण गर्न लागिएको उनले बताए । यसका लागि पालिकासँग उपयुक्त जग्गा नहुँदा समस्या भएपछि गाउँपालिकाले निःशुल्क जग्गा माग गरेको थियो । 

सो अनुसार व्यवसायी श्रेष्ठले जग्गा उपलब्ध गराउँदा काम थालनी गर्न सहज भएको बताउँदै अब छिट्टै टेण्डर प्रकृयामा जाने उनले बताए । चालु आर्थिक वर्षमा गाउँपालिकामा सो केन्द्र सञ्चालनको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताए । 

बहुवर्षे योजनाको रुपमा करिब डेढ करोड लागतमा सो भवन निर्माण गरिने उनले बताए । सो भवनमा गाउँपालिकाभित्रका कला संस्कृति देखाउनुका साथै सङ्ग्राहलय समेत निर्माण हुने उनले बताए । उनले पालिकाखबरसँग भने, ‘बन्दिपुर साँस्कृतिक केन्द्रको निकै नै राम्रो भवन बन्ने छ ।’