close

पर्यटकीय गाउँपालिका घोषणा गरिदिन आग्रह

पर्यटकीय गाउँपालिका घोषणा गरिदिन आग्रह

Trulli
ADVERTISEMENT

ललितपुर- कालीगडले प्रयोग गर्ने लिहीजस्तै एउटा ढुङ्गा बसेको छ । त्यही ढुङ्गामाथि विशाल चट्टान अडिएर बसेको छ । हत्केलाजस्तो सानो ढुङ्गामाथि विशाल चट्टान अडिएको चनढुङ्गा अचम्म लाग्दो छ । पटक-पटकका भूकम्प र प्राकृतिक प्रकोपमा समेत यो ढुङ्गा यसैगरी अडिएर रहनुमा दैवी शक्ति रहेको स्थानीयको विश्वास छ । 

उहिले काल देवताले त्रिवेणीमा स्नान गरी यसै ढुंगामा चन्दन घोटेर कालेश्वरलाई चढाउने गर्दथे रे । त्यही चन्दन ढुंगालाई नै अहिले चनढुंगा भन्ने गरेको किम्बदन्ती छ । महाङ्काल गाउँपालिका अनि चनढुङ्गा र कालेश्वर मकहमादेवजस्तै सयौं धार्मिक स्थलहरू महाङ्गाल गाउँपालिकामा छन् । त्यसैले गाउँपालिका अध्यक्ष गणेश बहादुर केसी आफ्नो गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरिदिनका लागि पहल गरिरहेको बताउछन् । गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरिदिनका लागि पहल गर्नुका साथै संघीय सरकालाई पटक पटक आग्रह गरिएको उनको भनाइ छ । 

पौराणिक तथ्य खोजेर तिनका आधारमा वैतरणीधाम, कालेश्वर महादेवजस्ता प्रमुख तीर्थको प्रचार गर्न सकेमा पर्यटन फस्टाउन सक्छ । पर्यटकलाई महाङ्काल भित्र्याउन सकिन्छ भन्ने अध्यक्ष केसी विश्वास्त छन् । काठमाडौंबाट जानेहरूका लागि कालेश्वर महादेव पुग्नुअघि वैतरणीधाम भेटिन्छ । 

महांकाल गाउँपालिका-३ स्थित गोटीखेलमा रहेको वैतरणीधामको ठूलो महत्व छ । जलाशय बनाएर यसको वरिपरि कलात्मक ढुङ्गेधाराबाट पानी झर्ने व्यवस्था गरिएको छ । यहाँ शिवलिङ्ग, हनुमान, तारकेश्वर महादेवको मन्दिर, गौशाला र धर्मशाला पनि छ । यहाँबाट कालेश्वर जाने क्रममा बीचमा भेटिने ढुङ्गानै चनढुङ्गा हो ।  

किंवदन्तीअनुसार सतिदेवीको मृत्युपछि महादेवले उनको मृत शरीर बोकेर संसार भ्रमण गर्दा कालेश्वरमा आई कण्ठ पतन भएको र त्यस ठाउँमा कालेश्वर महादेव उत्पत्ति भएको हो । इन्द्रजात्राको समयमा कालेश्वर महादेव जात्रा लाग्ने गर्छ । प्रचारप्रसार गर्न सकेमा महाङ्कालमा चनढुङ्गा, कालेश्वर र वैतरणीधामजस्ता अन्य धेरै सम्भावनाहरू रहेको गाउँपालिका अध्यक्ष केसीको भनाइ छ ।

उनका अनुसार यसबाहेक महाङ्कालस्थान, पालाजु झरना, सुम्बा झरना, लाम्राङ गढी र लुम्टुङ गुम्बा प्रमुख पर्यटकी गन्तव्य हुन् । गाउँपालिकाले आफ्नो स्थानबाट प्रवर्द्धन गर्दै आए पनि संघीय सरकारले थप सहयोग गर्नुपर्ने अध्यक्ष केसीको भनाइ छ । संघ सरकारले पर्यटकीय गाउँपालिका घोषणा गरेमा यहाँ बर्सेनि लाखौं पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । 

हाल गाउँपालिकाले ती गन्तव्यहरूमा पुग्ने बाटो र प्रचारमा ध्यान दिएर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । साथै बागमतीमा रहेको चमेरो गुपा पुग्ने बाटो पनि महाङ्कालकै क्षेत्र पर्ने भएको हुँदा सो पदमार्गको स्तरोन्नतिको लागि बजेट व्यवस्था गर्न  संघ सरकारसँग अनुरोध गरिएको उनले बताए ।