close

खजुरा गाउँपालिकामा धानको हाइब्रिड बीउ उत्पादन

खजुरा गाउँपालिकामा धानको हाइब्रिड बीउ उत्पादन

Trulli
ADVERTISEMENT

बाँके जिल्लाको खजुरा गाउँपालिकामा पहिलो पटक हाइब्रिड धानको बीउ उत्पादन सुरु गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय प्रदेश नं ५ खजुराका अनुसार हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामको हाइब्रिड धानको बीउको उत्पादन सुरु गरिएको हो । यो परीक्षण उत्पादन सफल भए यसअघि भारतलगायत विभिन्न मुलुकबाट हुँदै आएको आयात अन्त्य हुनेछ । 

 

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)अन्तर्गत राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले केही समय अगाडि नेपालमै धानको हाइब्रिड जात विकास गरेको थियो । हर्दिनाथ हाइब्रिड–१ ‘एफ १’ र हर्दिनाथ हाइब्रिड–३ ‘एफ ३’ नामकरण गरिएका बिउ राष्ट्रिय बीउबिजन समितिबाट स्वीकृत भएर २०७७ साउन २६ गते राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको थियो । लामो समयको परीक्षणपछि हाइब्रिड धानमा पाएको सफलतासँगै देशका विभिन्न स्थानमा कृषि अनुसन्धान निर्देशनालयले बीउ उत्पादन सुरु गरेको छ । 

 

यी दुवै धान तराई, मधेशका साथै समुद्र सतहदेखि ७०० देखि ९०० मिटर उचाइसम्मका लागि सिफारिस गरिएको छ । १२२ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड १ धान प्रतिहेक्टर सात÷पाँच टन उत्पादन क्षमता रहेको छ भने ११५ दिनमा पाक्ने हर्दिनाथ हाइब्रिड ३ धानको उत्पादन क्षमता प्रतिहेक्टर आठ टन रहेको निर्देशनालयले जनाएको छ ।

 

स्थानीय बजारमा उन्नत जातका धानको बीउ नपाएका कारण नेपालका किसान भारतीय बीउप्रति निर्भर हुनु परेको थियो । गुणस्तर परीक्षण विना भारतबाट जथाभावी ल्याइने बीउले बेलाबेलामा कृषक ठगिने गरेका थिए । पछिल्लो समय हाइब्रिड बीउको माग बढ्दै गएका बेला सरकारले सहज रुपमा यो बीउ पाउन सक्ने व्यवस्था गरिदिए वर्षौँदेखिको परनिर्भरता अन्त्य हुनेछ ।

 

कृषि अनुसन्धान निर्देशनालय प्रदेश नं ५ बाँके खजुराका अनुसार खजुरामा यी दुवै हाइब्रिड धान दुई हेक्टर जमीनमा दुई टन उत्पादन गर्ने लक्ष्यसहित उत्पादन शुरु गरिएको छ ।

पछिल्लो समय भारतीय हाइब्रिड धानको बीउप्रति कृषक आकर्षित भइरहँदा नक्कली बीउमा ठगिने गरेको पाइएकाले नेपालमै हाइब्रिड धानको विकास गरी उत्पादन सुरु गरेको कृषि अनुसन्धान निर्देशनालय प्रदेश नं ५ खजुराका निर्देशक जनमेजय त्रिपाठीले जनकारी दिए । ‘उत्पादन सफल भए अब हाइब्रिड धान नेपालमै पाइनेछ’, उनले भने, ‘बीउ नपाएर विभिन्न देशबाट आउने गुणस्तरहीन बीउबाट ठगिनुपर्ने छैन ।’