close

९ पालिकामा किबी जोन कार्यक्रम

९ पालिकामा किबी जोन कार्यक्रम

Trulli
ADVERTISEMENT

दोलखा - चालू आर्थिक वर्ष ०७७/७८ मा जिल्लाका सबै स्थानीय तहामा किबी जोन कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (किबी जोन) दोलखाले जिल्लाका सबै स्थानीय तहमा अनुदानका कार्यक्रम सञ्चालन गर्ने भएको हो  ।


५ सय हेक्टरमा किबी खेती विस्तार गर्न कार्यक्रम भएकाले ६ वटा स्थानीय तहबाट ९ पु-याएको हो । दोलखामा २ नगरपालिका र ७ गाउँपालिका छन् । किबी जोन दोलखाका वरिष्ठ कृषि विकास अधिकृत मोहनप्रसाद खतिवडा हाल २ सय ३१ हेक्टरमा किबी खेती भइरहेकामा चालू वर्षमा ५ सय हेक्टरमा किबी खेती विस्तार गर्ने लक्ष्य रहेको बताउँछन् । 


जिल्लाको भीमेश्वर नगरपालिका, कालिञ्चोक गाउँपालिका, शैलुङ गाउँपालिका, जिरी नगरपालिका, गौरीशंकर गाउँपालिका र विगु गाउँपालिकामा किबी जोन कार्यालयबाट अनुदानका कार्यक्रम सञ्चालन हुँदै आएकामा अब भने बैतेश्वर, मेलुङ र तामाकोशी गाउँपालिकामा पनि कार्यक्रम सञ्चालन गर्ने खतिवडाले जानकारी दिए ।  उनले भने, ‘गत वर्ष २ करोड ५१ लाख ६० हजार बराबरको कार्यक्रम सञ्चालन गरेकामा चालू वर्षमा ३ करोडभन्दा बढी बजेटको कार्यक्रम ल्याइएको छ ।

 

’किबी खेतीका लागि चालू वर्ष कार्यालयमा ३ करोड ९५ लाख बजेट आएको छ । ८ लाख ७ हजार रकम अध्ययन, रिपोर्टिङ र क्षमता अभिवृद्धिमा खर्च हुने खतिवडाले बताए ।  किबी बगैँचा स्थापना कार्यक्रमका लागि ५६ लाख, सिचाइसँग सम्बन्धित कामका लागि ४५ लाख, चक्लाबन्दीमा किबी पकेट कार्यक्रमका लागि ४० लाख, मेसिनरी औजार उपकरणमा १० लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए  ।


चालू वर्ष प्याकेजिङ, लेबलिङ तथा क्षति न्यूनीकरण कार्यक्रममा १० लाख र क्षेत्र विस्तार हुने स्थानको माटो परीक्षण शिविर सेवाका लागि २ लाख बजेट विनियोजन गरिएको किबी जोन दोलखाले जनाएको छ । यी कार्यक्रम ५० प्रतिशत अनुदानमा सञ्चालन हुनेछन् ।