close

भारतबाट केरा आएको आयै, नेपाली चाहिँ बोटमै सडे

भारतबाट केरा आएको आयै, नेपाली चाहिँ बोटमै सडे

Trulli
ADVERTISEMENT

कोरोना संक्रमणका कारण जारी गरिएको बन्दाबन्दी तथा निषेधाज्ञामा पनि भारतबाट केराको आयात रोकिएको छैन । भारतबाट आयात भएका सस्तो केराले बजार पाइरहँदा नेपाली कृषकले उत्पादन गरेका केरा भने बजारसम्म पुग्न नसक्दा बोटमै कुहिन थालेका छन् ।


स्थानीयस्तरमा उत्पादित केराले बजार पाउन छाडेपछि यहाँका कृषक निराश छन् । नेपालका अधिकांश जिल्लामा निषेधाज्ञा रहेको र निर्वाध सवारीसाधन सञ्चालन हुन नपाउँदा नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)का कृषकले उत्पादन गरेको केरा बजारसम्म सहज रूपमा ढुवानी तथा बिक्रीवितरण हुन नपाएको नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले बताए ।


पछिल्लो समय जिल्लामा केराको उत्पादन बढ्दो अवस्थामा छ । बिक्रीका लागि तयारी अवस्थामा रहेको केराले बजार पाउन नसकेपछि खेतमै पाकेर कुहिन थालेको उनले गुनासो गरे । संघका अनुसार जिल्लामा वार्षिक २ अर्ब बराबरको केरा उत्पादन हुने गरेको छ ।


पश्चिम नवलपरासीमा करिब दुई हजार ५ सय बिघामा केराखेती हुने गरेको छ भने २ हजार कृषक यसमा संलग्न छन् । विगतमा १ हजार २ सय कृषक केरा खेतीमा आबद्ध थिए । यहाँ उत्पादित केरा स्थानीय बजारसहित कास्की, काठमाडौँ, चितवन, धादिङ, रुपन्देहीलगायतका सहरमा पुग्ने गरेको छ ।


उखुको विकल्पमा केराखेतीतर्फ आकर्षित कृषक लामो समयको बन्दाबन्दीका कारण  बिक्री हुन छाडेपछि चिन्तामा छन् । जिल्लामा सबैभन्दा धेरै केरा उत्पादन गर्दै आएका सुस्ता गाउँपालिका–५ का  सञ्जय कोहारबिक्री हुन नसक्दा खेतमै कुहिन थालेको गुनासो गर्छन् ।


२१ बिघा क्षेत्रफलमा केरा खेती गरेको बताउँदै उनले भने, ‘केरा खेतमै पाकेको छ, कहाँ लगेर बिक्री गरौँ, धेरै चिन्ता लागेको छ । कोरोना महामारीका कारण यस वर्ष ५० लाखको केरा नोक्सान हुने अवस्थामा छ । सरकारले नै बजार व्यवस्थापन गरिदिनुपर्ने हो ।’

 

बजारसम्म सहज रूपमा केरा पुग्न नसक्दा कृषकले त्यसको उचित मूल्य पाउन सकेका छैनन् । थोकमा प्रतिदर्जन ४५ मा बिक्री हुने गरेको केराको मूल्य घटेर अहिले ३० रुपैयाँमा पुगेको उनले बताए । वार्षिक  २१ लाख जग्गा भाडामा लिएर व्यावसायिक रूपमा केराखेती गरेका कोहारको खेतमा ४५ हजार केराका बोट छन् । बजार व्यवस्थापन समयमै र सहज रूपमा हुन सके केरा खेतीबाट लगानीको झन्डै दोब्बर आम्दानी हुने गरेको कृषक बताउँछन् ।


कृषक कोहारले केराखेतीबाट वार्षिक ४५ लाखसम्म नाफा हुने गरेको बताए । यस वर्ष लागत उठाउन पनि मुस्किल भएको उनको भनाइ छ । प्रतापपुर गाउँपालिका–६ का  छविलाल हरिजनले बिक्रीका लागि तयार भएको केरा खेतमै कुहिन थालेको बताए । यसले गर्दा लागत उठाउन पनि गाह्रो भएको उनको गुनासो छ । हरिजनले दुई बिघाभन्दा बढीमा जग्गामा दुई वर्षदेखि केराखेती गर्दै आएका छन् ।


प्रतापपुर र सुस्ता गाउँपालिका उखुको मुख्य क्षेत्रका रूपमा परिचित रहे पनि लामो समयसम्म भुक्तानी नपाउने समस्या भोगेका यहाँका कृषकले उखुको विकल्पमा नगदे बालीकै रूपमा केराखेती गरेका हुन् । पछिल्लो पटकको विषम परिस्थितिले यो खेती पनि धराशयी हुने अवस्थामा पुगेको संघका वरिष्ठ उपाध्यक्ष सुदामा कोइरी बताउँछन् । 


‘नेपाली केराले बजार पाउन भारतबाट आयात हुने केरा रोक्नुपर्छ या त नेपालको केरा सकिएपछि मात्र आयात गर्ने व्यवस्था गर्नुपर्छ । हामीले भारतबाट आउने  केरासँग प्रतिस्पर्धा गर्न सक्दैनौं,’ उनले भने । मुलुकमा तीन तहका सरकार बने पनि कृषकको हितमा कुनै सरकारले ठोस काम गर्न नसकेको उनको आरोप छ । खुला सीमा नै नेपाली कृषकको मुख्य चुनौती रहेको विनयी त्रिवेणी गाउँपालिका–७ का कृषक मदनकुमार कुशवाहा बताउँछन् ।


स्थानीयस्तरमा कृषि प्राविधिक उपलब्ध नहुनु तथा केराको बिमा हुन नसक्दा थप उत्पादन बढाउन नसकिएको कृषकको गुनासो छ । प्रतापपुर, सुस्तालगायत गाउँपालिकामा कृषि प्राविधिक नहुँदा समस्या देखिँदै आएको कृषक कुशवाहाले बताए ।


नेपाल हाल केरामा ५० प्रतिशत आत्मनिर्भर रहेको मानिन्छ । कृषकलाई उचित अनुदान, समयमा मलबीउको उपलब्धता तथा बजार व्यवस्थापनको सुनिश्चितता गर्न सके केराबाट हजारौँ कृषक आत्मनिर्भर हुने संघका अध्यक्ष यादव बताउँछन् ।