close

भोजपुरको बोखिम तरकारी खेतीमा नमुना बन्दै

भोजपुरको बोखिम तरकारी खेतीमा नमुना बन्दै

Trulli
ADVERTISEMENT

भोजपुर नगरपालिका–५ बोखिम तरकारी उत्पादनमा नमुना वडा बनेको छ । सदरमुकामको कोठेबारीको रूपमा चिनिने यस ठाउँमा वडा कार्यालयले ‘एक घर एक प्लास्टिक टनेल’ कार्यक्रम सञ्चालनमा ल्याएर किसानलाई प्रोत्साहन गरेसँगै तरकारीमा नमुना बनेको हो ।


करिब ७ सय घरपरिवार रहेको यस वडाका अधिकांश किसानले तरकारी खेती गरिरहेका छन् । विगतका वर्षमा पनि तरकारीको खेती गर्ने यहाँका किसान वडा कार्यालयले प्राविधिक सहयोग गरेपछि झनै आकर्षित भएका छन् । 


उनीहरूले तरकारी खेतीबाट राम्रो आम्दानीसमेत लिइरहेका छन् । अधिकांश स्थानीय किसानको मुख्य आम्दानीको स्रोत तरकारी बाली बनेको छ । वडा कार्यालयले तरकारी उत्पादनमा सहयोग पु¥याएको उनीहरू बताउँछन् ।

 

स्थानीयले टनेलमा टमाटर, अकबरे खुसार्नी, तीतेकरेला, बन्दा, काउली, काँक्रोलगायत विभिन्न जातका तरकारी उत्पादन गर्दै आएका छन् । स्थानीय किसान खड्गराज राजभण्डारीले भने, ‘विगतका वर्षमा पनि तरकारी खेती गरिरहेका थियौँ । तरकारीका लागि उपयुक्त ज्ञान तथा प्रविधिको अभावमा सोचेजस्तो आम्दानी लिन सकिरहेको थिइनँ । तर, वडा कार्यालयको पहलमा भइरहेको विभिन्नखाले कार्यक्रमले यसतर्फ लाग्न थप हौसला मिलेको छ । तरकारीबाट राम्रै आम्दानी गरिरहेको छु ।’

 

तरकारीको राम्रो सम्भावना रहेको यस क्षेत्रका अन्य किसानले पनि आफ्नै लगानीमा पनि व्यावसायिकरूपमा खेती गरेका छन् । व्यवसायमा लाग्ने किसानलाई लक्षित गरेर वडा कार्यालयले तालिम तथा विभिन्न समयमा उन्नत जातको बीउबिजनसँगै फलफूल जातका बिरुवासमेत दिने गरेको उनीहरूले बताउने गरेका छन् ।


आगामी दिनमा समेत साथ सहयोग पाए व्यवसायलाई अझ विस्तार गर्ने किसानहरूको भनाइ छ । विदेश जानुभन्दा तरकारी खेती गरे राम्रो आम्दानी दिन सकिने उनीहरूको अनुभव छ ।


स्थानीय तरकारी किसान प्रतीक्षा श्रेष्ठले भन्छिन्, ‘वडा कार्यालयले पनि केही मात्रमा सहयोग गरेको छ । वडामा कम मात्रामा बजेट हुने भएकाले हामी आफैंले लगानी गरेर व्यावसायिकरूपमा तरकारी खेती गरिरहेका छौं । व्यवसायी बनेर काम गर्न सके यहीँ राम्रो आम्दानी छ, पैसा कमाउनका लागि विदेश जानु पर्दैन ।’
वडा कार्यालयले विनियोजित बजेटमध्येबाट कृषिलाई प्राथमिकता दिएको छ । कृषिका क्षेत्रमा विनियोजित बजेटले मात्र धेरै काम गर्न असम्भव भएपछि विभिन्न संस्थासँग सहयोग मागेरै किसानको मागलाई पूरा गर्दै आएको  छ ।

 

वडा कार्यालयले आफ्नोतर्फबाट एक÷एकवटा टनेल वितरण गरेको छ भने भू–तथा जलाधार कार्यालयसँग माग गरेर गरिब तथा विपन्न परिवारलाई लक्षित गरी २ सय २२ परिवारलाई प्लास्टिक टनेल वितरण गरेको वडा कार्यालयले जनाएको छ ।


वडा क्षेत्रका स्थानीयवासीलाई प्रोत्साहन गर्न आगामी दिनमा अझै किसान लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको वडाध्यक्ष जसबहादुर राईले बताए ।
वडा कार्यालयले कृषि क्षेत्रमा गरिरहेको कामलाई धेरैले प्रशंसा गरेका छन् । वडास्तरमा थोरै मात्र बजेट हुने भए पनि त्यसलाई उचित ढंगले प्राथमिकता निर्धारण गरेर वडा कार्यालयले कृषि क्षेत्रमा गरिरहेको यो काम धेरैका लागि उदाहरणीय रहेको स्थानीय बताउँछन् ।


वडा कार्यालयले किसानलाई सिँचाइका लागि स–साना प्लास्टिक पोखरीसमेत सहयोग गर्दै आएको छ । किसानले समयअनुसारको तरकारी उत्पादन गरेर बिक्री वितरण गर्दै आएका छन् ।