close

कृषि उत्पादन बढाउने कृषकलाई मिक्लाजुङको पुरस्कार 

कृषि उत्पादन बढाउने कृषकलाई मिक्लाजुङको पुरस्कार 

Trulli
ADVERTISEMENT

पाँचथर - कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्य राख्दै पाँचथरको दक्षिणी मिक्लाजुङ गाउँपालिकाले धेरै उत्पादन गर्ने किसानलाई दिने भनेको पुरस्कार वितरण प्रक्रिया सुरु गरेको छ ।


धेरै उत्पादन गर्ने किसानलाई एक लाख रुपैयाँ नगद पुरस्कार दिने गरी गाउँपालिकाले योजना अघि सारेको थियो ।


कोरोनाको प्रकोपका कारण लकडाउन भएपछि बाहिरबाट खाद्यान्न ल्याउन समस्या पर्न थालेपछि पालिकाभित्रै उत्पादन बढाउने उद्देश्यका साथ कृषकलाई प्रोत्साहन स्वरूप पुरस्कार घोषणा गरिएको थियो । सोहीअनुसार उत्पादनको विवरण संकलन गर्ने काम भइरहेको पालिकाले जनाएको छ ।


अहिले धान र मकै उत्पादन गर्ने किसानहरूको विवरण संकलन भइरहेको छ । ४० मुरीभन्दा बढी धान फलाउने किसान, चार फुट उचाइ, २० फुट लम्बाइ भएको थाङ्ग्रा (मकै राख्ने) हुनेलाई एक लाख रुपैया दिने घोषणा भएको थियो । 


यस्तै, ३५ मन धान फलाउनेलाई प्रतिकिलो २० रुपैयाँका दरले अनुदान दिइसकिएको छ भने आलुमा १७ लाख रुपैयाँ अनुदान वितरण गरिएको छ ।


‘कार्यविधि बनाएर पुरस्कारलाई अघि बढाएका छौँ । यसलाई हामी निरन्तरता दिन्छौँ’, गाउँपालिका अध्यक्ष अमरराज माखिमले भने, ‘कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम आगामी दिनमा पनि निरन्तर अघि बढाउनेछौँ ।’


गाँउपालिका केन्द्र रवि बजारमा आयोजित एक कार्यक्रममा धेरै उत्पादन गर्ने केही प्रतिनिधि किसानलाई सम्मान गरिएको थियो । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले किसानलाई सम्मान गरेका थिए ।


गाउँपालिकाका लेखा प्रमुख दीपेन्द्र चेम्जोङका अनुसार कति किसानले यो पुरस्कार पाउँछन् भनेर विवरण संकलन गर्ने काम भइरहेको छ । 


तोकिएको मापदण्डमा रहेर आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको थियो । अहिले जनप्रतिनिधि तथा किसानहरू संयुक्त रूपमा किसानका घरघर पुगेर उत्पादनको जाँच गर्ने काम गरिरहेका छन् ।