close

मूल्य पाएपछि हाैसिए किसान: बजारभाउभन्दा बढीमा फसल बिक्री

मूल्य पाएपछि हाैसिए किसान: बजारभाउभन्दा बढीमा फसल बिक्री

Trulli
ADVERTISEMENT

मोरङ- किसानले उत्पादन गरेको कृषि उपज सरकारले बजारीकरण गरिदियो भन्दा अचम्म लाग्न सक्छ । तर, अचम्म मान्नुपर्दैन । 

 

मोरङको बेलबारी नगरपालिकाले किसानले उत्पादन गरेको गहुँ बजारभाउभन्दा बढी मूल्यमा किनबेच गराइदिएको छ । केही समयअघि नगरपालिकाले नै किसानलाई ८० प्रतिशत छुटमा करिब १ हजार किलो बिउ वितरण गरेको थियो ।  

 

‘अहिले बजारमा १२ सय प्रतिमनले गहुँ किनबेच भइरहेका छ । हामीले नगरपालिकाकै गाडीमा बजारसम्म पुर्‍याइदियौँ’, नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले भने, ‘किसानले प्रतिमन १५०० रुपैयाँ पाएका छन । किसानले उत्पादन गरेको ६ हजार किलो गहुँ बजारमा पठाइसकेका छौँ ।’

 


१४५ मन बढी कृषि सामग्री कम्पनी लिमिटेड इटहरीमा लगेर बेचिसकिएको कृषि विकास शाखाका प्रमुख विनोद दाहालले बताए । किसानले उत्पादन गरेको गहुँ पुनः बिउका रूपमा प्रयोग हुने दाहालको भनाइ छ ।

 

उत्पादित कृषि उपजको बजारीकरण नगरपालिका आफैंले गरिदिन थालेसँगै किसानसमेत खुसी भएका छन्। बजार मूल्य राम्रो पाएपछि कृषिप्रति किसान हौसिन थालेका हुन् ।

 

नगरपालिकाले गरेको सहयोगले फाइदा पुगेको बेलबारी वडा नम्बर ५ का मणि चौधरीले बताए । केही समयअघि मात्रै किसान तथा उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरण नगरपालिकाले गरिदिने घोषणा नगर प्रमुख सुवेदीले गरेका थिए ।