close

बाख्रापालनमा हौसिँदै रुकुमका किसान

बाख्रापालनमा हौसिँदै रुकुमका किसान

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वका बाख्रापालक किसान अभियानमुखी मिसन तथा रोड करिडोर बाख्रापालन कार्यक्रमप्रति उत्साहित भएका छन् । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालय रुकुम पूर्वमार्फत सञ्चालित अभियानमुखी कार्यक्रममार्फत बाख्रापालकले लाभ लिइरहेका हुन् । 

 

२५ वटा बढी बाख्राका माउ भएका किसानका लागि अभियानमुखी बाख्रा मिसन कार्यक्रम र मध्यपहाडी लोकमार्ग आसपास कम्तीमा १० वटा बाख्राका माउ भएकालाई रोड करिडोर कार्यक्रमबाट जिल्लाका बाख्रापालक किसानलाई लाभान्वित गरिँदै आएको कार्यालयका पशुपक्षी शाखाका छैटौँ अधिकृत छविलाल घर्ती मगरले बताए ।

 

चालू आर्थिक वर्षमा अभियानमुखी बाख्रा पालन कार्यक्रमका लागि ५० जना किसानबाट निवेदन आएकामा सबैलाई छनोट गरी अनुदानका लागि सम्झौता गर्न बोलाइए पनि ४० जना मात्र सहभागी रहेको घर्तीले जानकारी दिए । 

 

छनोट भएका बाख्रापालक किसानलाई कार्यालयको नगद २ लाख रुपैयाँ अनुदान र २५ प्रतिशत किसानको लगानी रहनेछ । यसैगरी रोड करिडोर बाख्रापालन कार्यक्रमका लागि प्रतिकिसान नगद ५० हजार रुपैयाँका दरमा अनुदान दिइएको घर्तीले बताए । 

 

बाख्रा मिसन कार्यक्रममार्फत पाएको अनुदानले आधुनिक खोर निर्माण, उन्नत जातको एउटा बोको, औषधी, ऊन कात्ने औजारलगायत आवश्यकताका आधारमा मागअनुसार बजेट खर्च गराइँदै आएको कार्यालयका सूचना अधिकारी डा. सुकइप्रसाद थारुले बताए ।

 

रोड करिडोर बाख्रापालन कार्यक्रमबाट भौतिक निर्माण, आहार, औषधी तथा औजार व्यवस्थापनका लागि काम भइरहेको थारुको भनाइ छ । यो कार्यक्रममा १ सय बाख्रापालक छनोट भएका छन् ।  बाख्रापालक किसानलाई व्यवसायमा आत्मनिर्भर गराएर व्यवसाय वृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको सूचना अधिकारी डा. थारुले सुनाए । 


चालू आर्थिक वर्षबाट सुरु गरिएको अभियानमुखी मिसन र रोड करिडोर बाख्रा पालन कार्यक्रमप्रति किसानको आकर्षण रहेकाले आगामी वर्ष पनि निरन्तरता दिइने कार्यालयले जनाएको छ । यो आर्थिक वर्षमा अभियानमुखी मिसन बाख्रापालन कार्यक्रमबाट ४० र रोड करिडोर बाख्रापालन कार्यक्रमबाट १ सय गरी जिल्लामा २ कार्यक्रमबाट १४० जना बाख्रापालक किसानले लाभ लिएका छन् ।