close

सवा सात करोडका कृषि कर्म चलाउँदै इलाम कृषि ज्ञान केन्द्र

सवा सात करोडका कृषि कर्म चलाउँदै इलाम कृषि ज्ञान केन्द्र

Trulli
ADVERTISEMENT

इलाम– कृषि ज्ञान केन्द्र इलामले यो वर्ष ७ करोड १७ लाख ७७ हजार रुपैयाँका कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारबाट ५ करोड ३७ लाख ६२ हजार र संघबाट १ करोड ८१ लाख १५ हजार रुपैयाँको वार्षिक कार्यक्रम सञ्चालन गरिने केन्द्रका कृषि प्रसार अधिकृत रुजन खड्काले जानकारी दिए ।

 

संघीय सरकारबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ससर्त अनुदान ९१ लाख १५ हजार रुपैयाँको प्रांगारिक कृषि प्रविधि मिसन कार्यक्रम सञ्चालन गरिनेछ । 


६५ लाख रुपैयाँ बराबरको बिउबिजन प्रवद्र्धन कार्यक्रम हुनेछन् । २३ लाख रुपैयाँ बराबरको कृषि विकास रणनीति अनुगमन कार्यक्रम हुनेछ । समन्वय कार्यक्रमका लागि २ लाख रुपैयाँ ससर्त अनुदान प्राप्त भएको केन्द्र प्रमुख टोनी बर्देवाले बताए । ज्ञान केन्द्रको कार्यक्रम आवश्यकताअनुसार इलामका सबै नगरपालिका र गाउँपालिकामा सञ्चालन हुनेछ । 

भण्डारण, मल उत्पादनका कार्यक्रम सञ्चालन हुने

जिल्लाको सबै पालिकामा आवश्यकताको आधारमा बिउबिजन उत्पादन भण्डारण, प्रांगारिक कृषि मल उत्पादनको कार्यक्रम सञ्चालन गरिनेछ । व्यावसायिक कृषिमा जोड दिँदै महिला, दलित, विपन्न तथा पिछडिएको क्षेत्रका युवा लक्षित समूह कार्यक्रमलाई बढी प्राथमिकता दिइनेछ । 

 

प्राथमिकताका आधारमा एक पालिका एक बिउबिजन नर्सरी उद्योग सञ्चालन गरिनेछ । कृषि बजारसँगै कृषि फसल संकलन केन्द्र निर्माण कार्यक्रम सञ्चालन हुनेछन् ।

 

लक्षित समूहलाई व्यावसायिक फलफूल बगैँचा स्थापना, कफी खेती विस्तार, रैथाने बाली उत्पादन प्रवद्र्धन, च्याउ, मह उत्पादन कार्यक्रम सञ्चालन हुनेछन् । प्रांगारिक कृषि मल बनाउन सहयोग उपलब्ध गराइनेछ । नमुना कृषि फार्म स्थापना, तरकारी, प्याज उत्पादन प्रवद्र्धनमा रकम खर्चिनेछ ।

कोरोना महामारीको अवरोध

कृषि ज्ञान केन्द्रले गत वर्ष कोरोना महामारीका कारण लक्षित कार्यक्रम सञ्चालन गर्न नसकिएको बताएको छ । प्रदेश सरकारबाट ५० प्रतिशत बजेट कटौती भए पनि स्वीकृत कार्यक्रम सञ्चालन हुन नसकेको हो । 

 

९ करोड ५३ लाख ६१ हजार स्वीकृत बजेटमध्ये ६ करोड ४१ लाख १० हजार रुपैयाँ फुकुवा भएको थियो । यसमध्ये ५ करोड ९२ लाख ७८ हजार ९ सय ११ रुपैयाँ मात्रै खर्च भएको छ । 

 

प्रदेश सरकारकै ६ करोड २४ लाख ७५ हजार स्वीकृत बजेटमध्ये ३ करोड १२ लाख २४ हजार मात्र फुकुवा भएकामा २ करोड ८१ लाख १० हजार रुपैयाँ खर्च भएको तथ्यांक छ ।


संघीय सरकारको अनुदान बजेट ३ करोड ६० लाख ११ हजार रुपैयाँ खर्च भएको छ । थप कार्यक्रम सञ्चालन गर्न विभिन्न गोष्ठी र समन्वयका कार्यक्रमसमेत सञ्चालन हुन नसकेको बताइएको छ । 


महामारीका बीच पनि जैविक वनस्पतिको कार्यक्रम, माटो शिविर र केही कृषि अनुसन्धान केन्द्रका कार्यक्रमसमेत प्रभावित भएको कृषि प्रसार अधिकृत रुजन खड्काले बताए ।