close

परीक्षणबिनाको खेतीले  उत्पादनमा ह्रास

परीक्षणबिनाको खेतीले  उत्पादनमा ह्रास

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङमा परम्परागत खेतीकिसानी गर्ने क्रम नरोकिएपछि किसानको अन्नबाली उत्पादनमा ह्रास हुँदै गएको छ । बागलुङको जैमिनी नगरपालिकाले किसानको खेतबारीको माटो परीक्षण गरायो । दश वडाका अधिकांश फाँटबाट ल्याइएको माटो कृषि शाखामा राखिएको प्रयोगशालामा परीक्षण भयो । 

 

आठ सय नमूना परीक्षण गर्दा अधिकांशमा अम्लीयपन भेटियो । किसानलाई अम्लीयपन कम हुने विधि कृषि प्राविधिकले सिकाए । कृषि चुन नगरपालिकाले निःशुल्क बाँड्यो । नगरले निःशुल्क रुपमा गरेको परीक्षणमा कृषि शाखाले तोकेरै मगाएका बाहेक किसान आफैले नमूना शिविरमा ल्याएनन् । 

 

नगरले कृषि उत्पादन वृद्धि गर्ने योजना अघि सारेको छ । सोही योजना अनुसार माटोको अवस्था थाहा पाउन शिविर गरिएको कृषि शाखाले जनाएको छ । माटोको अवस्था जानकारी भएपछि कृषिका योजना, किसानलाई सल्लाह पनि सोही अनुसार दिइने गरेको कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । यही अवस्था जिल्लाको ढोरपाटन नगरपालिकामा पनि छ । नगरले पोखराबाट प्राविधिकको समूह बोलाएर माटो परीक्षण गराएको थियो । 


जिल्लाभर रहेका दश स्थानीय तहमध्ये दुई स्थानीय तहले मात्रै गत वर्ष माटोको परीक्षण गराए । बाँकी स्थानीय तहमा न सरोकारवाला माटोको उत्पादकत्व जाँचका लागि परीक्षणमा चासो राख्छन् न किसान नै । दुई नगरमा भएको परीक्षणबाट जिल्लाभर रहेको खेतीयोग्य जमिनको दुई प्रतिशत मात्रै जमिनको उत्पादकत्व जाँच भएको छ । बागलुङमा कुल क्षेत्रफलको २५ प्रतिशत अर्थात् ४६ हजार १४८ हेक्टर जमिन खेती योग्य मानिएको छ ।

 

कृषि ज्ञान केन्द्र बागलुङका प्राविधिक सहायक जमुना भण्डारीका अनुसार पहाडी जिल्लाको अधिकांश भूगोलमा अम्लिय माटो पाइन्छ । परीक्षणपछि मात्रै माटोको उत्पादकत्व थाहा लाग्ने भए पनि किसानले माटो परीक्षणमा ध्यान दिँदैनन् । माटोको उत्पादकत्व मापन गर्ने ‘पिएच’ विधिअनुसार ६ पिएचभन्दा कम क्षमतालाई अम्लीय र ८ पिएचभन्दा बढीलाई क्षारीय माटो भनिन्छ । ‘अम्लीयपन हामीले लगाएको बाली र त्यहाँ प्रयोग हुने रसायनका कारण बढ्ने गरेको छ,’ भण्डारीले भने, ‘बाउबाजेले हालेको मल खेतबारीमा सकियो । अहिले आधुनिक मलमा हामीले बढी विश्वास गर्छाैं ।’ 

 

माटोको अवस्था सामान्य राख्न र उत्पादन बढाउन कृषि प्राविधिकले सल्लाह दिन्छन् । प्राङ्गारिक मल माटोको सन्तुलन कायम राख्न महत्वपूर्ण तत्व भएको भण्डारीको भनाइ छ । अम्लियपन भएको जमिनमा उत्पादकत्व कम हुन्छ । उत्पादनमा कमी आउदा आत्तिएका किसान माटोको परीक्षणका विषयमा भने चासो राख्दैनन् । संघीयता कार्यान्वयनमा आउनु पूर्व जिल्ला कृषि विकास कार्यालयले माटो परीक्षण गर्ने भए पनि अहिले जिल्लामा त्यो संरचना नहुँदा किसानलाई थप समस्या छ ।

 

पोखरामा रहेको माटो तथा मल परीक्षण प्रयोगशाला वा माटो परीक्षण किटबाट मात्रै परीक्षण सम्भव रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहमा रहेका कृषि शाखाको कम चासो र किसानको बेवास्ता पनि माटो परीक्षण नहुनुका कारण हुन् । ‘माटो परीक्षण गरेको उत्पादन क्षमताका आधारमा बाली लगाउदा उत्पादन लिन सहज हुन्थ्यो,’ ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराई भन्छन्,‘अम्लिय र क्षारीय गुण भएको माटो नसहने बाली लगाएर उत्पादन लिन सकिँदैन् ।’

 

गण्डकी प्रदेश सरकारले ११ वटै जिल्लामा डिजिटल माटो परीक्षण प्रयोगशाला स्थापनाका लागि बजेट विनियोजन गरेको छ । तर, हालको कृषि ज्ञान केन्द्रले प्रयोगशाला स्थापनाका लागि भवन अभाव व्यहोरीरहेको छ । ‘कुरा नगरपालिकामा नै गएर जोडिन्छ, नगरपालिकाले साविक कृषि विकास कार्यालयको भवन कब्जा गर्दा प्रयोगशाला राख्ने भवनको खाँचो भयो,’ उनले भने, ‘पहिले प्रयोगशाला रहेको कोठा मात्रै दिनुस् भनेका छौं । त्यहीँ पुराना सामग्री छन्, नयाँ मेसिन पनि अट्छ ।’ 

 

स्थानीय तहमा कृषिको अधिकार सबै हस्तान्तरण भएपछि माटो परीक्षण, प्राङ्गारिक उत्पादन लगायतमा कम चासो हुने गरेको अनुभव कृषि प्राविधिकसँग छ । माटो परीक्षणका लागि प्रदेशको प्रयोशाला पुर्‍याउदा पनि नमूना संकलनको समयमा सही तरिका नअपनाउदा गलत नतिजा आउने गरेको अनुभव ज्ञान केन्द्रसँग छ ।