close

किसानको लगत संकलन गर्दै कावासोती 

किसानको लगत संकलन गर्दै कावासोती 

Trulli
ADVERTISEMENT

नवलपुर–नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसान सूचीकरण सुरु गरेको छ । सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ अनुसार विभिन्न पेसामा आबद्ध किसानको पहिचान गर्न किसान सूचीकरण सुरु गरिएको हो ।     

 

कृषि तथा पशुपक्षी विकास शाखाका प्रमुख डा. टेकराज पौडेलले नगरपालिकाभित्र रही कृषि, पशुपक्षी तथा मत्स्य व्यवसायमा आबद्ध किसानको लगत संकलनका लागि किसान सूचीकरण कार्यक्रम थालनी गरिएको जानकारी दिए ।

 

यसका लागि कावासोती नगरपालिकाले पहिलो चरणमा वडा नम्बर ५ र १७ मा सहजकर्ता खटाएको उनले बताए । सहजकर्ता नखटिएका क्षेत्रका किसानले आवश्यक कागजातसहित नगरपालिकाको कृषि तथा पशुपक्षी विकास शाखामा उपस्थित भएर किसान सूचीकरणको फाराम भर्न सकिने बताइएको छ ।

 

यसैगरी किसान सूचीकरण व्यवस्थापन प्रणालीको वेबसाइटमा गई आफ्नो विवरण प्रविष्ट गर्न सकिनेसमेत शाखा प्रमुख पौडेलले जानकारी दिए । किसान सूचीकरणका लागि आफ्नै व्यक्तिगत सम्पर्क नम्बर, नागरिकताको प्रतिलिपि, जग्गा पुर्जाको प्रतिलिपि र पासपोर्ट साइजको एक प्रति फोटो आवश्यक पर्नेछ ।


किसान सूचीकरणसँगै वर्गीकरण गरिनेछ । सूचीकरण र वर्गीकरणपछि नगरपालिकाबाट किसानका लागि प्रदान गर्ने सुविधा पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने शाखा प्रमुख पौडेलले बताए । 

 

नगरसहित प्रदेश र संघीय रूपमा समेत यही तथ्यांक प्रयोग हुने भएकाले ती क्षेत्रबाट प्राप्त गर्ने अनुदानसहित अन्य सुविधा प्रदान गर्ने क्रममा व्यवस्थित बनाउन किसान सूचीकरणले सहयोग पुर्‍याउने उनको भनाइ छ ।

 

सरकारले किसानलाई पेन्सनको कुरासमेत उठाउने गरेको छ । अहिले गरिएको सूचीकरणले सो कार्यक्रमका लागिसमेत सहयोग पुग्नेछ । कावासोती नगरपालिकामा हाल दुई वडालाई प्राथमिकता दिएर सहजकर्ता खटाइए पनि क्रमशः नगरभित्रका सबै वडाबाट कोही पनि किसान सूचीकरणमा नछुट्ने गरी काम थालिने उनले जानकारी दिए । नगरपालिकाले किसानलाई प्राथमिकताका साथ सूचीकरण गराउनसमेत अनुरोध गरेको छ ।