close

एउटै गाउँबाट तीन करोडको सुन्तला बिक्री

एउटै गाउँबाट तीन करोडको सुन्तला बिक्री

Trulli
ADVERTISEMENT

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–२ खानीगाउँका कृषकले यस वर्ष सुन्तला विक्री गरेर गाउँमा  तीन करोड भित्र्याएका छन् । व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका कृषकले यस वर्ष सुन्तला विक्री गरेर  तीन करोड आम्दानी गरेका हुन् ।

 

तीन दशक अगाडीसम्म बाँझो पाखोको रुपमा रहेको यस ठाउँ अहिले सुन्तलाको पकेट क्षेत्रको रुपमा विकास भइरहेको छ । मिहीनेत गरेर मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका किसानले प्रस्तुत गरेका छन् । यहाँका विश्वबहादुर अधिकारी र निर्मल अधिकारीले यस वर्ष सुन्तला विक्री गरेर  ८५ लाख आम्दानी गरेका छन् । भिरालो जमिनलाई उपयोग गरेर सुन्तला खेती गरेका उनीहरुले पछिल्लो समय मनग्य आम्दानी लिन सफल भएका छन् । 

 

जिल्लाका विभिन्न स्थानमा सुन्तलामा रोग लागेपनि यस ठाउँमा भने सुन्तला उत्पादनमा कमी नआएको विश्वबहादुरले बताए । सुन्तलामा विभिन्न भाइरसले पछिल्लो समय सङ्क्रमण आएपनि खानीगाउँका सुन्तलामा व्यवस्थापनमा कृषकले उचित ध्यान दिएको उनले बताए । 

 

स्थानीयवासी सुकनारायण श्रेष्ठ, रामबहादुर अधिकारी लगायतले सुन्तला विक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन् । यहाँका कृषकले वर्षेनी लाखौ मूल्य बराबरको सुन्तला विक्री गर्ने गरेको श्रेष्ठले बताए । म्याग्देको खानीगाउँमा कृषकले गरेको सुन्तलाखेती उदाहरणीय रहेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । उनका अनुसार जिल्लामा यस वर्ष १५ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको छ । 

 

गत वर्ष जिल्लामा आठ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । उत्पादितमध्ये धेरै सुन्तला जिल्लाबाहिर निर्यात हुने गरेको छ । जिल्लामा उत्पादित सुन्तला काठमाडौ, पोखरा, नारायणगढ लगायतका ठाउँमा विक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायतका ठाउँमा समेत यहाँको सुन्तला विक्री हुने गरेको किसानहरु बताउँछन् । यस वर्ष जिल्लाबाट रु २४ करोड बराबरको सुन्तला बिक्री वितरण हुने अनुमान छ ।

 

सुन्तला खरिदका लागि ठेकेदार सुन्तला बगानमै पुग्ने गरेका छन् । तनहुँमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ र ३ स्थित उमाचोकमा सबैभन्दा बढी सुन्तला उत्पादन हुने गरेको छ । । व्यास नगरपालिका–११ तनहुँसुर, वडा नम्बर १३ को बेनीकोट, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–२ पतेनी, शुक्लागण्डकी नगरपालिका–११ राइपुर, भीमाद नगरपालिका–९ भानुमति लगायतका ठाउँमा व्यावसायिक रुपमा सुन्तला उत्पादन हुँदै आएको छ ।