close

कृष्णपुरमा एक वडा, एक उत्पादन : किसानलाई लाभैलाभ

कृष्णपुरमा एक वडा, एक उत्पादन : किसानलाई लाभैलाभ

Trulli
ADVERTISEMENT

कञ्चनपुर–कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सञ्चालित एक वडा, एक उत्पादन कार्यक्रमबाट तरकारी खेतीमा आबद्ध किसान लाभान्वित भएका छन् । कार्यक्रमअन्तर्गत किसानलाई समूहमार्फत अनुदानमा बिउबिजन, प्लास्टिक टनेल, सिँचाइका लागि पम्पसेट, विद्युतीय मोटरलगायत उपलब्ध गराइएको छ ।

 

तरकारी खेतीमा नगरपालिकालाई आत्मनिर्भर बनाउन वडाको भौगोलिक विशिष्टताका आधारमा कार्यक्रम सञ्चालन गरिएको छ । नगरपालिकाको कृषि शाखाका कृषि प्रसार अधिकृत लालबहादुर धामीका अनुसार तरकारी खेतीका लागि नगरपालिका ९ वडामध्ये वडा नम्बर १, २, ३, ६, ७ र ८ लाई तरकारी खेतीका लागि गत वर्ष छनोट गरिएको थियो ।

 

तरकारी खेती गर्ने किसानलाई समूहमा आबद्ध गरी मागका आधारमा अनुदानमा रकम सीधैँ खातामा उपलब्ध गराउने व्यवस्था मिलाएका थियौँ’, अधिकृत धामीले भने, ‘अनुदान रकमसँगै तरकारी खेतीका लागि तालिम, माटो परीक्षण र आइपिएम पाठशाला सञ्चालन गरिएको थियो ।’ त्यसबाट व्यावसायिक तरकारी खेतीमा संलग्न दुई दर्जन बढी समूहमा आबद्ध किसान लाभान्वित भएका छन् । किसानले व्यावसायिक तरकारी खेतीलाई विस्तार गरी आत्मनिर्भर भएको अधिकृत धामीले बताए ।

 

जैविक तरकारी खेती गर्ने किसानलाई नगरपालिकाले थप प्रोत्साहित गर्ने नीति लिएको छ । चालू आवमा समेत सो कार्यक्रमअनुसार कम्तीमा समूहमा आबद्ध किसानले ५ बिघा जग्गामा तरकारी खेती गरेका आधारमा अनुदान रकम उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइएको छ । ‘कृषिलाई व्यावसायिकीकरण गरी किसानलाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन कार्यक्रम सञ्चालन गरेका हौँ’, उनले भने, ‘बाली विविधीकरणसँगै बाँझो जग्गा सदुपयोग गर्न सञ्चालन गरिएको कार्यक्रम प्रभावकारी हुँदै गएको छ ।’

 

किसानलाई कार्यक्रमअनुसार मागका आधारमा अनुदान रकम उपलब्ध गराइँदै आएको छ । तरकारी खेतीका लागि प्रस्ताव पेस गरेका समूहलाई गत वर्ष ३ लाख रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको थियो । चालू आवमा व्यावसायिक खेतीका लागि प्रतिसमूहलाई २ लाखका दरले अनुदान रकम उपलब्ध गराइने व्यवस्था गरिएको छ ।