close

मिक्लाजुङ्गमा भित्रिँदै कृषि, पशुपालनबाटै समृद्धि 

मिक्लाजुङ्गमा भित्रिँदै कृषि, पशुपालनबाटै समृद्धि 

Trulli
ADVERTISEMENT

मोरङ- स्थानीय स्रोत–साधन परिचालन गरी कृषि क्षेत्रको चौतर्फी विकास गर्न तीनै तहका सरकार जागरुक देखिन्छन् । कृषिलाई आत्मनिर्भर बनाउन प्रदेश र स्थानीय तह कृषकका सारथि बनेका छन् । कृषि पूर्वाधार विकास, उत्पादन वृद्धि र व्यापार/व्यवसाय व्यवस्थापनमा जोड दिएपछि समृद्धि हासिल गर्ने लयमा मोरङको मिक्लाजुङ्ग गाउँपालिका अघि बढेको छ । 


मिक्लाजुङ्ग गाउँपालिकामा २ हजार ६ सय २० हेक्टर कृषियोग्य जमिन छ । तर, ५५ प्रतिशत जमिनमा मात्रै कृषि कर्म हुन्छ । अधिकांश जमिन ग्रामीण क्षेत्रमा रहेकाले केही हदसम्म कृषि परम्परागत रूपमा चलिरहेको छ ।  कृषकले खेती गर्ने तरिका, बिउ उत्पादन, बाली संरक्षण तथा त्यसको भण्डारण गर्ने तरिका पनि सबै परम्परागत नै थिए । तर, जनप्रतिनिधिको उपस्थितिसँगै कृषकको दिनचर्या फेरिएको छ ।

 

कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरणको प्रयोग बढ्न थालेको छ । कृषकले खेतबारीमा लगाइएको उपजबाट आम्दानी लिइरहेका छन् । कृषि पेसा छाडेर विदेश जानुपर्ने बाध्यता अन्त्य भएको तोरीबारी लघु उद्यमी कृषि सहकारी संस्थाका अध्यक्ष रामेश बस्नेत बताउँछन् ।
स्थानीय तहमा जनप्रतिनिधिले कार्यभार सम्हालेपछि कृषि र पशुपालन क्षेत्रमा पालिकामा सुधारको संकेत देखिएको छ । पशुपालक कृषकले दूधको मूल्य पाएका छन् । पालिकाले अनुदानका कार्यक्रमलाई निरन्तरता दिन सके कृषि र पशुपालनबाटै मनग्य आम्दानी लिन सकिने अवस्था बनेको छ ।

 

गाउँपालिकाले कृषि र पशुपालन क्षेत्रका हालसम्म दूध चिस्यान केन्द्र स्थापना, –निःशुल्क परामर्श सेवा, अनुदानमा बाख्रा, भैँसी, कुखुरा, हाँस र बँगुर वितरण, कृषि सडक निर्माण, सस्तो ब्याजदरमा ऋण, खेती किसानीका लागि हाते ट्र्याक्टर वितरण, कृषि तालिम
दिँदै आएको छ ।


स्थानीय किसान रेजिना गिरी गोठमा पालिएका गाईभैँसीले दिएको दूध बेचेरै मनग्य आम्दानी गरिरहेकी छन् । दूध बिक्री नभए गाउँपालिकाले निर्माण गरेको चिस्यान केन्द्रमा राख्न सक्ने सुविधा भएसँगै मधुमल्लासम्म पुग्नुपर्ने बाध्यता अन्त्य भएको उनी बताउँछिन् । 
विगतमा गाउँमै दूध चिस्यान केन्द्र नहुँदा पशुपालक कृषकलाई निकै असहज थियो । मधुमल्लाबाट आउनुपर्ने बाध्यता थियो । तर, अहिले सबै समस्या हटेका छन् ।


गाउँपालिकाले आर्थिक वर्ष ०७५/७६ मा ५९ लाख ६७ हजार, आव ०७६/७७ मा ९५ लाख, आव ०७७/७८ मा ५८ लाख, आव ०७८/७९ मा १ करोड १० लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

पालिकाले कृषि विकास र पशु विकास कार्यक्रममा छुट्याएको बजेटबाट कृषक लाभान्वित भइरहेका छन् । लगानीअनुसारको प्रतिफल उठ्दै जाँदा सन्तुष्टि मिलेको गाउँपालिकाको कृषि शाखा प्रमुख प्रकाश अधिकारी बताउँछन् ।


उत्पादन लागत घटाउन कृषि यन्त्र र उपकरणदेखि बिउ, औषधी वितरण गर्ने । कृषकलाई परामर्श दिने र रोग लागे खेतबारीमै पुग्ने गरिएको उनको भनाइ छ ।

 

पालिकाले उत्पादनलाई बजारीकरण गर्न सहयोग गरेपछि उत्पादन बिक्री नहुने चिन्ताबाट कृषक मुक्त भएका छन् । तर, पालिकाले सस्तोमा ऋण उपलब्ध गराउने कार्यक्रमलाई भने निरन्तरता दिन आवश्यक रहेको कृषक बताउँछन् । तालिम र प्राविधिक सहायतामा लगानी गरिदिए कृषिबाट सिंगो पालिकालाई आत्मनिर्भर बनाउन सकिने वडा नम्बर ८ का किसान पदमप्रसाद भण्डारीको अनुभव छ ।


‘पालिकाले कृषकलाई अर्थिक सहयोग गर्दा गाउँमै परिवारसँगै बसेर मनग्य आम्दानी गर्न सफल भएका छौँ । विदेश गएको भएमजदुर भएर काम गर्नुपथ्र्यो,यहाँ मालिक भइयो’, स्थानीय किसान लालबहादुर गिरी भन्छन् । कृषि कर्ममा हौसिएका कृषकलाई प्रत्येक वडामा पालिकाले कृषि प्राविधिक व्यवस्था गरिदिए कृषकलाई थप सहज हुनेछ ।


मिक्लाजुङ्गले बाँझा जमिन प्रयोग गर्ने, सामूहिक, करार तथा सहकारी खेतीतर्फ प्रोत्साहन बढाउँदै लगेको छ । त्यसैको प्रतिफलस्वरुप नगदे बाली, औद्योगिक बाली, पशुपालनमा पनि वृद्धि भएको छ । अहिले ९ वटै वडाका कृषक पालिकाले दिएको सहयोगबाट कृषि कर्मलाई विस्तार गरिरहेका छन् । अझै पनि कृषि विज्ञ र भेटेनरी अस्पताल अभाव खड्किएको छ । सुरुमा आयस्तर उकास्नमै केन्द्रित भएका जनप्रतिनिधिले दीर्घकालीन योजना बनाएकाले यो अभाव पनि छिट्टै हट्ने आश कृषकमा पलाएको छ ।