close

किसान लक्षित अनुदानले समृद्ध बन्दै रंगेलीबासी

किसान लक्षित अनुदानले समृद्ध बन्दै रंगेलीबासी

Trulli
ADVERTISEMENT

मोरङ– मोरङको रंगेली नगरपालिकाले कृषिमैत्री योजना बनाएर कृषि र पशुपालनबाटै नागरिकको समृद्धिमा सहयोग गर्दै आएको छ । कृषि उत्पादनका लागि खेतीयोग्य जमिनको उपयोग गर्दै कृषि र पशुपालनमा नागरिकलाई आत्मनिर्भर बनाउने जनप्रतिनिधिको योजना सार्थक बन्दै गएको छ । कृषक लक्षित तालिम र अनुदानले नगरको कृषिमा आधुनिकीकरण भित्रिएको छ । 

 

रंगेली नगरपालिकाको भौगोलिक अवस्था हेर्दा कृषि उत्पादनका लागि उर्बर माटो र हावापानी सुहाउँदो छ । जनसंख्याको चापले खेतीयोग्य जमिन मासिँदै जाने र युवा कृषिप्रति आकर्षित नहुँदा रंगेलीको आर्थिक विकास हुन सकेको थिएन । तर, अहिले अवस्था फेरिएको छ । कृषिमा नगरपालिकाले फड्को मारेको छ । भूमिलाई व्यावसायिक रूपमा उपयोग र कृषिलाई आधुनिकीकरण गर्दा नगरबासीको आर्थिक उन्नतिमा टेवा पुगिरहेको छ । 

 

स्थानीय आशुदेवी झाँगर यतिबेला खुसी छन् । विदेशमा भएका श्रीमान् पनि स्वदेश फर्किएर नगरपालिकाको सहयोगमा कृषिमा होमिँदा उनी दंग भएकी हुन् । नगरपालिकाले दिएको निःशुल्क गाई र कृषिमा अनुदान प्राप्त गरेपछि धेरै सहज भएको वडा नम्बर १ की आशुदेवी झाँगर बताउँछिन् । 

 

नगरपालिकाले स्थानीयलाई खुसी दिलाउने गरी कृषि र पशुपालनमा उत्कृष्ट काम गरेको छ । प्रत्येक वडामा १५ वटाका दरले उन्नत जातका जर्सी गाई वितरण कार्यक्रम सफल देखियो । गोठ सुधार र नश्ल सुधारका कार्यक्रमसहित किसानलाई तालिम र अनुदान दिइएको छ । खेती किसानलाई ट्युबवेल, सिँचाइका लागि डिप बोरिङ वितरण गरिएको छ । वडालाई धान, दूध, गाईभैँसी, माछापालन पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । नगरमा रहेका ४२ वटा कृषि तथा सहकारी संस्थामार्फत किसानलाई ऐचोपैँचो लागू गरिएको छ । कृषक, कृषि समूह र कृषि सहकारीमार्फत उन्नत जातका बिउ, कृषि औजार, घाँस बिउ, कुखुरका चल्ला र बंगुरका पाठा वितरण गरिँदै आएको वडा नम्बर १ का वडाध्यक्ष महेशकुमार खनालले जानकारी दिए ।

 

उत्पादित दूधका लागि चिस्यान केन्द्र निर्माण गरिएको छ । खोरेत, भ्यागुतेजस्ता रोग लाग्न नदिन पशुपक्षी खोप कार्यक्रम सञ्चालन हुँदै आएका छन् । रंगेली, दोहमना, रञ्जनी, बिर्ता बजार र बौका बोर्डरमा लाग्ने हाटबजारलाई व्यवस्थित गरेर किसानका उत्पादनको बजारीकरण गरिएको छ । स्थानीय उत्पादनलाई जोड दिने जनप्रतिनिधिको नीति छ । शीतभण्डारदेखि अत्याधुनिक वधशाला निर्माण भएका छन् । कृषि शाखाले सबैको पहुँचमा पुग्ने गरी तालिम र प्रशिक्षण दिँदा गाउँमा आत्मनिर्भर बन्ने युवाको संख्या बढिरहेको नगरपालिकाको कृषि शाखा प्रमुख वीरेन्द्रकुमार मण्डलको भनाइ छ ।

 

नगरपालिकाले कृषि र पशुका लागि छुट्टै शाखा विस्तार गरेर बजेट विनियोजन गरिरहेको छ । अहिले बृहत् कृषि बजारमा १३ वटा संरचना निर्माणाधीन अवस्थामा छन् । ४५ करोड रुपैयाँमा ठेक्का भएर काम अघि बढिरहेको छ । निर्माण सकिएसँगै कृषि र पशुपालनबाट नगरले समृद्धिको यात्रा तय गर्नेमा दुईमत छैन ।