close

पशुपालनबाट किसानको आर्थिक स्तर उकास्दै कानेपोखरी

पशुपालनबाट किसानको आर्थिक स्तर उकास्दै कानेपोखरी

Trulli
ADVERTISEMENT

मोरङ–पशुपालन ग्रामीण अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको आयमूलक पेसा हो । पशुपालन पेसालाई सम्मानजनक र व्यावसायिक बनाउन तीनै तहका सरकारले लगानी बढाउन आवश्यक छ । मोरङको कानेपोखरी गाउँपालिकाले पशुपालनमा १ करोड बढी लगानी गरेर पशुपालक किसानको आर्थिक स्तर उकास्न मद्दत गरेको छ । पशुपालनबाटै आयआर्जन बढाउन सकिन्छ भन्ने सफल उदाहरण गाउँपालिकाले देखाएको छ । 

 

कानेपोखरी गाउँपालिकाका नागरिक कृषि र पशुपालन व्यवसायमा आबद्ध छन् । ५० प्रतिशतले खेतीपाती व्यवसाय अँगाल्दा १० प्रतिशतले पशुपालन गर्दै आएका छन् । कुखुरापालन गर्ने १ प्रतिशत र माछापालन गर्नेको संख्या २ प्रतिशत छ ।

 

समुन्नत विकास र व्यावसायिक ढंगबाट पशुपालनमा जोड दिने उद्देश्यलाई साकार पार्न जनप्रतिनिधि खटिँदै आएका छन् । कृषि तथा पशु शाखालाई छुट्टाछुट्टै शाखा बनाएर काम गर्दा पशुपालनमार्फत युवा आकर्षण बढाउन गाउँपालिका सफल हुँदै गएको छ । अनुदान र ऋण सहायता गर्न पालिकाले बर्सेनि बजेट बढाउँदै लगेको छ  । 

 

पालिकाले आर्थिक वर्ष ०७४/७५ मा ४ लाख ५ हजार, आव ०७५/७६ मा १५ लाख, आव ०७६/७७ मा २५ लाख, आव ०७७/७८ मा ४१ लाख ५० हजार, आव ०७८/७९ मा ४१ लाख ५० हजार पशुपालनका लागि खर्चिएको छ ।

 

सुरुआती वर्षमा ४ लाख पशुपालनमा बजेट छुट्याएको गाउँपालिकाले त्यसपछिका वर्षमा ११ लाख बजेट बढायो । पशुपालनमा अनुदान दिने व्यवस्था गरियो । दुई आर्थिक वर्षमा समान रकम विनियोजन गर्दा गाउँपालिकाले ५ वर्षमा १ करोड २७ लाख रुपैयाँ बजेट पशुपालनका लागि छुट्यायो । 

 

यही बजेटबाट गाउँपालिकाले किसानका घरमै पुगेर पशुका पाठा वितरणदेखि  प्राविधिक सल्लाहसमेत दिने गरेको छ । पशुपालकलाई गोठ सुधार कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदान दिइएको छ । यसले गर्दा दूध उत्पादन र पशुपालक किसानको आयआर्जन वृद्धि हुँदै गएको कानेपोखरी पालिकाका पशु सेवा शाखा प्रमुख डम्बर राई बताउँछन् ।

 

अहिले गाउँपालिकामै विभिन्न फार्म सञ्चालन गरेर पशुपालन गर्नेको संख्या बढ्न थालेको छ । स्थानीय जयबहादुर बस्नेतको कृषि फार्म गाउँपालिकाकै नमुना बनेको छ । विदेश नभई स्वदेशमै केही गर्न सकिन्छ भन्ने अठोट लिँदा उनलाई आफ्नै गाउँमा स्वरोजगार बनाएको छ ।

 

बंगुर पाल्नुहुँदैन भन्ने मानसिकताले घर गरिरहेको समय आफ्नै गोठमा फार्म सञ्चालन गरेका बस्नेत अहिले गाउँभरिकै अनुकरणीय पात्र बनेका छन् । गाउँपालिकाको सहयोगमा फार्म सञ्चालन गरेर पशुपालन गर्दै आएका अर्का कृषक मनिप्रसाद राई पनि अहिले जनप्रतिनिधिले गरेको सहयोगका कारण दंग छन् ।

 

कृषि विकासको रणनीतिमा सरकारले डेरी, कुखुरापालन, बाख्रापालन व्यवसायलाई प्राथमिकतामा राख्दा अहिले कानेपोखरी दूध र मासुमा आत्मनिर्भर बन्ने क्रममा छ । पशुको स्वास्थ्य परीक्षण, औषधी वितरण र पशु प्राविधिकको निरन्तरको निरीक्षणसहित पशु बिमा कार्यक्रमले पशुपालन क्षेत्रमा आमूल परिवर्तन आएको छ गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेको भनाइ छ ।

 

पशुपालनलाई नीतिगत, संस्थागत व्यवस्था गरेर समयानुकूल विकास गर्ने प्रयत्न जनप्रतिनिधिबाट हुँदै आएको छ । हुन पनि कृषि क्षेत्रमा मात्र नभई राष्ट्रिय अर्थतन्त्र, खाद्य तथा पोषण सुरक्षा, रोजगारी अभिवृद्धि गर्न पशुपालनले ठूलो भूमिका निर्वाह गर्दै आएको छ । पशुपालनमा गरिएको लगानीले भविष्यमा कानेपोखरीलाई आत्मनिर्भर बनाउँदै कुल गार्हस्थ उत्पादनमा गाउँपालिकाको योगदान महत्वपूर्ण हुने निश्चित छ ।