close

नमोबुद्धमा शीतभण्डार निर्माण सुरु

नमोबुद्धमा शीतभण्डार निर्माण सुरु

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। नमोबुद्ध नगरपालिका–३ दाहालचौरमा कृषि उत्पादन भण्डारणका लागि शीतभण्डार (कोल्डस्टोर) निर्माण थालिएको छ। शीतभण्डार सञ्चालनमा आएपछि नगर तथा आसपासका  रोशी, तेमाल, महाभारत गाउँपालिका र सिन्धुलीका कृषकसमेत लाभान्वित हुनेछन् ।

यसअघि अन्न भण्डारणकै लागि महँगो मूल्य तिरेर पाँचखाल, बनेपा, पनौतीसम्म पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो । उक्त शीतभण्डारका लागि नगरकै जलवायु अनुकूलन कार्यक्रममार्फत पहिलो चरणमा रु ८५ लाख विनियोजन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताए।

उनका अनुसार पहिलो चरणमा स्थानीय लागत सहभागितासमेत गरी  रु ९९ लाख खर्च हुने भएको छ । उक्त लागतमध्ये १५ प्रतिशत स्थानीय उपभोक्ताले व्यहोर्ने जनाइएको छ ।

कुल रु आठ करोड ३६ लाख ४६ हजार नौ सय ९९ लागत अनुमानमा तयार गरिने भण्डारणलाई बहुवर्षीय योजनामा समावेश गरेर पूरा गर्ने नगरले योजना बनाइएको हो । प्रति च्याम्बर ३० मेट्रिकटनका दरले छ च्याम्बरमा एक सय ८० मेट्रिकटन तरकारी, फलफूल र अन्न भण्डारण गर्न सकिने नगरपालिकाका इञ्जीनियर उज्ज्वल अर्यालले बताए।

शीतभण्डारको मङ्गलबार नगरप्रमुख कुन्साङ लामाले शिलान्यास गरेका हुन् । उनले पहिलो चरणमा निर्माण हुने एकतले भवन तीन महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको बताए। स्थानीय उपभोक्ता सीता दाहालले शीतभण्डार सुरु गरिएकामा खुसी व्यक्त गर्दै अब आलुलगायत तरकारीको बीउ राख्न खर्च गरेर अन्त जानै नपर्ने हुन लागेकोमा खुसी व्यक्त गरिन्।